चरिकोट । दोलखाको सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाइम्बिङ एन्ड हाइकिङ सुरु गरिएको हो ।
सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको प्रवर्द्धनका लागि गुरु योजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेका हुन् । खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीनवटै पहरामा मिनी रक क्लाइम्बिङ, एड्भान्स र हाइलेवलको रक क्लाइम्बिङ गर्न सक्ने विज्ञ तथा अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाको भनाइ छ ।
‘सोक्लाको रक, भूगोल र वातावरणीय दृष्टिले रक क्लाइम्बिङसँगै साइक्लिङ गर्न सकिन्छ । स्वेदशीभन्दा पनि विदेशीहरूका लागि यो उत्तम गन्तव्य हो,’ मान्टेड गाइड शेर्पाले भने, ‘अन्डर ग्राउन्ड एड्भेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनोटमा छ । यहाँ पाँचवटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ ।’
उनका अनुसार गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोसी किनारामा ल्यान्डिङ गर्नका लागि बेसक्याम्प बनाउनुपर्छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुन भित्र्याउन सक्ने शेर्पाको अध्ययनले देखाएको छ ।
भीमेश्वर नगरका विपत् व्यवस्थापन टिमले सोक्लामा रक क्लाइम्बिङ परीक्षण गरेको छ । गाइड तथा प्रशिक्षक थिरबहादुर खड्का र शिव खड्काको टिमले सफल रूपमा रक क्लाइम्बिङ परीक्षण गरेका हुन् । प्रशिक्षक थिरबहादुर खड्काले सोक्लामा रक क्लाइम्बिङका लागि सबैको रोजाइको गन्तव्य हुने बताएका छन् ।
फ्रान्सका नागरिकहरूले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको टिमले यस क्षेत्रको प्रवद्र्धनका लागि सहयोग गर्ने बताएका छन् । सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्बिर र भिडियोलाई सामाजिक सञ्जालसँगै फ्रान्समा प्रचार गर्ने उनीहरूले बताए ।
भीनपा–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरूलाई दोलखा बजारमा स्वागत गरेका थिए । दोलखाबाट फ्रेन्च नागरिकहरूले ‘सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९’ सुरु गरेका थिए ।
फ्रेन्च नागरिकहरू दोलखा, दुङगल, गंङरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरूले सोक्लामा बोम्बो(झाँक्री) संस्कृतिको अवलोकनसमेत गरे । यसपछि रक क्लाइम्बिङ रुटको भ्रमण गरेको सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ ।
उनीहरू यस रुट हुँदै गुमडाँडा भएर चम्पुचा पार्क निस्किएका थिए । आजको हाइकिङमा भीमेश्वर नगर विपत् व्यवस्थापनका थिरबहादुर खड्का र शिव खड्का, भीमेश्वर नगरका कार्यपालिका सदस्य मुना श्रेष्ठ, भीनपा–२ का वडा सदस्य सविना विक लगाएतको सहभागिता थियो ।
सोक्लाश्वरी पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए ।
सोक्लालाई एडभेन्चर टुरिजम गन्तव्य बनाउनका लागि रक क्लाइम्बिङ, बन्जी र प्याराग्लाइडिङसँगै ¥याफ्टिङ प्रवर्द्धनमा भीमेश्वर नगरपालिको बजेट व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।
साथै, यहाँको सांस्कृतिक सम्पदा, जातीय तथा भाषिक विविधतालाई अध्ययन केन्द्र, चर्या पर्या पर्यटनलाई जोड दिनुपर्ने पाख्रिनको भनाइ छ । यस क्षेत्रमा तामाङ, थामी, मगर, क्षेत्री, नेवार र दलित समुदाय छन् ।