काठमाडौं । बूढानीलकण्ठ क्षेत्रमा धमाधम पाँचतारे होटल निर्माण भइरहेका छन् । काठमाडौंबाट नजिकको गन्तव्य र उपत्यकालाई नजिकबाट नियाल्न सकिने भएकाले पनि उक्त क्षेत्र धेरै व्यवसायीहरुको रोजाइ बनेकाे छ ।
यसैबीच केही वर्षदेखि निर्माण भइरहेको पाँचतारे होटल बूढानीलकण्ठ हेरिटेज २०२३ जनवरी (अंग्रेजी नयाँ वर्ष) देखि सञ्चालनमा आउने भएको छ ।
अहिले निर्माणकर्य तीव्र गतिमा भइरहेको र नयाँ वर्षमा सञ्चालनमा ल्याउने गरि काम भइरहेको होटलका सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
उनका अनुसार हालसम्म होटलको ७० प्रतिशतभन्दा बढी काम सकिसकेको छ भने डेकोरेसनको काम चलिरहेकाे छ ।
होटल तयार भए पनि व्यवस्थापनका लागि विदेशी कम्पनी ल्याउन आवश्यक गृहकार्यसमेत सुरु भइरहेको कार्की बताउँछन् ।
'सम्भवतः विदेशी कम्पनी नै हाम्रो होटलको व्यवस्थापन सम्हाल्ने गरी आउन सक्छ,' उनले भने, 'हामी आन्तरिक छलफलमा छौं ।'
बूढानीलकण्ठ हेरिटेज प्रालिद्वारा निर्माण गरिएको सो होटलमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको लगानी रहेको छ । विभिन्न समूहमा लगानी विस्तार गर्दै आएको सो समूहले पहिलोपटक होटलमा लगानी गरेकाे हाे ।
हाेटलको अध्यक्षमा डा. राजेन्द्र केसीसँगै सीए दीपक पाण्डे, सीए नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, बाबुकाजी कार्की र जनक भट्ट, जलेश्वर पाण्डे,अम्बिकाप्रसाद पौडेल र हरिप्रसाद पाण्डेको लगानी रहेको छ । पौडेल सेयर बजारका लगानीकर्तासमेत हुन् । उनले यसअघि चन्द्रागिरी हिल्समा पनि लगानी गरिसकेका छन् ।
करिब साढे दुई अर्बकाे लगानीमा निर्माण भइरहेको सो होटलमा नेपाल बैंक र नेपाल एसबीआई बैंककाे लगानी रहेको छ । काठमाडौंको कोलाहालबाट केही टाढा तर सुविधासम्पन्न होटलको खोजीमा निस्कनेहरूलाई लक्षित गरी निर्माण गरिएको सो होटलको इन्टेरियरको काम होम मेकरले गरिरहेको छ । सो कम्पनीले भिभान्ता र अल्फ्ट होटलको पनि इन्टेरियरको काम गरेको थियो ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटलमा १०२ वटा कोठा हुनेछन् । दुइटा प्रेसिडेन्सियल, तीनवटा डिलक्स र बाँकी ९७ वटा इकोनोमी कोठाहरू हुनेछन् ।
९ तलाको सो होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन रहनेछ ।
होटल नारायणगोपाल चोकबाट पाँच किलोमिटर भित्र रहेको छ । होटललाई पब्लिक कम्पनीमा रुपान्तरण गरिसकेको छ ।