काठमाडौं । मोरङ व्यापार संघले भारतबाट विराटनगर नाका जोड्ने पुल सूचारु गराउन माग गरेको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा भारतको अररीया गएको टोलीले अरीरयाकी डिष्ट्रीक्ट मजिस्टेट इनायत खानसँग भेट गरी दुई देश जोड्ने पुल सञ्चालन गर्न ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा २०२२ जनवरी ६ तारिकमा मिरगञ्ज पुलमा क्षति पुगेपछि जोगबनी–विराटनगर नाकाबाट सवारी साधनको आवतजावत क्रमशः घट्दै गएको जानकारी गराएको मोरङ व्यापार संघले जनाएको छ ।
सो पुल क्षतिग्रस्त हुँदा नेपाली व्यवसायीहरुले आफ्ना मालवाहक सवारी साधनहरु भीमनगर–भन्टाबारी भन्सारमार्फत रिरुट गर्दै आएकाले नेपाली आयातकर्ता÷निर्यातकर्ताहरुले उच्च ढुवानी लागत, अतिरिक्त समय, झन्झटिलो प्रक्रिया र अन्य विभिन्न अनावश्यक खर्चहरु व्यहोर्न बाध्य हुनु परेको र नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव परिरहेको जानकारी गराएको संघको भनाइ छ ।
संघले भारत सरकार र अन्य सम्बन्धित निकायलाई पटक पटक जानकारी गराई संघकै पहलमा मीरगञ्ज पुलको समानान्तरमा निर्मित नयाँ आरसीसी पुललाई तत्कालका लागि अस्थायी रुपमै भए पनि सञ्चालनमा ल्याउन तथा क्षतिग्रस्त मीरगञ्ज पुलको समेत जीर्णोद्वार गरी उक्त नाकामार्फत सवारी साधनहरुको आवतजावत सुचारु गराउन आग्रह गर्दै आएको थियो ।
संघकै अनुरोधमा ८ फेबु्रअरी, २०२२ मा अररीयाका तत्कालिन डिस्ट्रीक्ट मजीस्टे«ट प्रशान्त कुमार सीएचलगायत विभिन्न भारतीय निकायका अधिकारीहरु सहितको टोलीले समेत ती पुलहरुको निरीक्षण गरी सवारी साधनहरुको आवागमन सूचारु गराउन शिघ्रता दिइने आश्वासन दिएकोसमेत सम्झाएको छ ।
यद्यपी, सो पुलमा क्षति भएको करिब ६ महिना बितिसक्दा पनि निर्माण कार्यहरु एकदमै सुस्त गतिमा अघि बढेको र ठूला सवारी साधनको आवतजावतलाई पुनः सुचारु गर्ने सम्बन्धमा कुनै उल्लेखनीय विकासको अनुभूति हुन नसकेको व्यापार संघले जनाएको छ ।
पुलको भार क्षमता वृद्धि हुने गरी जिर्णोद्वार गर्न र सोही पुलको समानान्तरमा नवनिर्मित आरसीसी पुललाई यथाशीघ्र सञ्चालनमा ल्याइ नेपाली अर्थतन्त्रमा परिरहेको अनावश्यक आर्थिक भार न्यूनिकरण गराउन अनुरोध गरेको मोरङ व्यापार संघले जनाएको छ ।