काठमाडौं । नेपालमा सञ्चालित ६० हजार उद्योगमा ६ खर्ब १९ अर्ब रुपैयाँबराबर सम्पत्ति रहेको पाइएको छ । विभागले शुक्रबार ११ औं राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
६० हजार १८५ उद्योगमा ३ लाख ८१ हजार २२७ जना कर्मचारी आबद्ध छन् । यो तथ्यांक आर्थिक वर्ष २०७५/७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ ।
विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर, बीचमा कोभिड १९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ । विभागले औद्योगिक सर्वेक्षण २०७६ चार खण्डमा वर्गीकरण गरी समावेश गरेको हो ।
जसमा (बि) खण्डमा खानी तथा उत्खनन, (सि) खण्डमा औद्योगिक उत्पादन, (डि) खण्डमा विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा र (इ) खण्डमा पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू रहेका छन् ।
देशभरका कूल ६० हजार उद्योगमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६ उद्योग, औद्योगिक उत्पादन इोत्रमा ५६ हजार, विद्युत ग्याँस, बाफ तथा वातानुकूलमा ९९४ उद्योग र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन क्षेत्रमा २ हजार २२४ उद्योग रहेका छन् ।
देशभरका उद्योगमध्ये खानी तथा उत्खनन क्षेत्रमा आबद्ध कर्मचारी ५ हजार ७ सय, औद्योगिक उत्पादन क्षेत्रमा ३ लाख ४६ हजार हजार, विद्युत ग्याँस, बाफ तथा वातानुकूलमा १७ हजार उद्योग र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन क्षेत्रमा १२ हजार ५ सय जना कमचारी आबद्ध छन् ।
देशभरमा सञ्चालनमा रहेका उद्योगले वार्षिक रुपमा १ खर्ब ७ अर्ब ७९ लाख रुपैयाँ तलब दिँदै आएको विभागले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ । नेपालमा औद्योगिक क्षेत्रका चारवटै प्रतिष्ठानमध्ये ३९.९ प्रतिशत उद्योगहरुले पूर्ण क्षमतामा संचालन छन् ।
हाल देशभरमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या ५ हजार १७ पुगेको छ । २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या ४ हजार ७३ थियो । जुन २३ प्रतिशतले बढेको छ ।