काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक (एमडी) वीरेन्द्रबहादुर बस्नेतकै चाहनामा क्याप्टेन आङ्गेलु शेर्पा ९ महिनादेखि उडान प्रतिबन्धमा परेका छन् ।
गत असोजदेखि विराटनगरबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा ल्यान्डिङ गियरमा समस्या देखिएको घटनामा छानबिनमा परेका शेर्पाको हालसम्म उडान प्रतिबन्ध फुकुवा हुन सकेको छैन ।
बुद्ध एयरले नै क्याप्टेन शेर्पासहितको क्याबिन–क्रुलाई अस्थायी रुपमा उडान प्रतिबन्ध लगाएको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छानबिन समितिले रिपोर्ट बुझाइसक्दा पनि क्याप्टेन शेर्पाको उडान प्रतिबन्ध खुला गरिएको छैन ।
‘हामीले प्रतिवेदन तत्कालै दिएका हौं,’ पर्यटन मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक बुद्धिसागर लामिछानेले भने, ‘उडान प्रतिबन्ध खुलाउने÷नखुलाउने हामीलाई थाहा हुँदैन ।’
पर्यटन मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उडड्यन प्राधिकरणमा पठाएको छ । बुद्धले नै बनाएको आन्तरिक छानबिन समितिले भने जहाजमा कुनै समस्या नभएको र चालकदलको कमजोरी देखिएको रिपोर्ट बुझाएको थियो ।
‘आन्तरिक छानबिनमा चालकदलको कमजोरी देखिएको र उसैले बढी हल्ला गरेको कारण ब्रान्डमा समेत धक्का पुगेको निष्कर्षमा पुगेका एमडी बस्नेतकै कारण क्याप्टेनको प्रतिबन्ध नखुलाइएको हुन सक्छ,’ एक क्याप्टेनले भने ।
‘अधिकांश घटनामा चालक दललाई दोषी देखाउने गरिएको छ,’ ती क्याप्टेन भन्छन्, ‘तर, तिनै चालकदलको संयमताका कारण ठूलो दुर्घटनाबाट बचेको विषय भने सञ्चालकहरुले भुलिदिन्छन् ।’
अहिले क्याप्टेन शेर्पालाई प्राधिकरणले ‘फुल रिपोर्ट’ नदिएको भन्दै उडानमा जान रोकिएको छ । यस विषयमा बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतसँग जिज्ञासा राख्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
यता बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले भने अप्रेसन विभागको विषय भएकाले आफूले कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । अप्रेसनको विषय मलाई थाहा हुँदैन,’ प्रवक्ता जोशीले भने, ‘अप्रेसन विभागसँग सोध्नुस् ।’
यता अप्रेसन विभागका प्रमुख क्याप्टेन रञ्जन शर्माले भने प्रबन्ध निर्देशक बस्नेतले प्राधिकरणबाट फुल रिपोर्ट नआएसम्म क्याप्टेन शेर्पालाई उडानमा नपठाउन निर्देशन जारी भएको बताए ।
‘यसमा प्रबन्ध निर्देशकज्यूले नै चासो राख्नुभएकाले उडान प्रतिबन्ध खुलाउने विषय मेरो हातमा छैन,’ उनले भने, ‘सायद प्राधिकरणको फुल रिपोर्टको पर्खाइमा हुनुहुन्छ होला ।’
बुद्ध एयर स्रोतका अनुसार आफ्नो कम्पनीका कर्मचारीमाथि गरेको छानबिनको फुल रिपोर्ट हेर्न पाउनुपर्छ भन्दै प्रवन्ध निर्देशक बस्नेतले प्राधिकरणसँग रिपोर्ट मागिरहेका छन् । तर, प्राधिकरणले भने रिपोर्ट नदिएको जनाएको छ ।
यस विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, प्रवक्ता जगन्नाथ निरौला र हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।