काठमाडाैं । बिहीबारको गिरावटलाई निरन्तरता दिँदै साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले ओर्लिएको छ। शुक्रबार कारोबार बन्द हुँदा परिसूचकमा ३४.७१ अंकको फराकिलो गिरावट देखियो ।
आजको कारोबारपछि परिसूचक पुनः दुई हजारको बिन्दु तल ओर्लिएको हो । नेप्से १९९२.६१ को विन्दुमा सीमित हुन पुगेको छ।
सेलिङ प्रेसरले परिसूचकले डेढ प्रतिशतभन्दा धेरै गुमाएको हो। विशेषगरी बढेका स्टकहरुमा ‘प्यानिक सेल अफ’ देखिएको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहअन्तर्गतका सेयरमा बिक्रेता हाबी भएका छन् ।
उत्पादन तथा प्रशोधनका सेयरहरुको मूल्य समेत तीव्र गतिमा ओर्लिएको छ। कारोबारमा आएका अधिकांश उपसमूह घटेका हुन्। औसत २ प्रतिशतका दरले कारोबारमा आएका १३ उपसमूह घटे।
परिसूचकसँगै खरिद बिक्रीमा पनि तीव्र गिरावट आएको छ। कारोबार अवधिमा मात्र १ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भयो । झन्डै ७० करोड रुपैयाँले कारोबार रकम खुम्चिएको छ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भयो । साढे ५ करोड रुपैयाँभन्दा धेरैको शिवम् सिमेन्ट किनबेच भएको हो । यद्यपि कम्पनीको सेयर मूल्यभने झन्डै साढे ४ प्रतिशतका दरले घटेको छ। शिवमसहित १७५ अन्य कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
यीमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो । करिब साढे ५ प्रतिशतको गिरावट मूल्यमा देखियो।
तर, परिसूचकको लयविपरीत १४ वटा कम्पनीको मूल्य भने बढेको छ। गुराँस, इन्फिनिटी र विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी बढ्यो।