काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरु गरेको छ ।
उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।
पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायत विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिला सशक्तिकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्प सुरु भइसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे ।
महिलाद्वारा उत्पादित वस्तुहरुको बजारीकरणमा चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘महिला दिदीबहिनीले उत्पादन गरेका वस्तु उत्पादनस्थलदेखि बजारीकरणसम्म नेपाल चेम्बर अफ कमर्सले साथ दिन्छ । कृषिजन्य वस्तुको प्रशोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि चेम्बरले सहयोग गर्छ ।’
चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन् ।
कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तीमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तिकरणमा विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।