पोखरा । हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाको प्रसार प्रसारको निम्ति ‘हिमालयन भिगन महोत्सव २०२२’ हुने भएको छ ।
वर्ल्ड भिगन अर्गनाइजेसनले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी गराएको हो ।
नेपालमै पहिलोपल्ट हुन लागेको सो महोत्सवमा काठमाडौं, लुम्बिनी र पोखरामा हुने अर्गनाइजेसनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा विश्वका विभिन्न देशका करिब २ सय ५० देखि ३ सय जना ख्यातीप्राप्त व्यक्तिसहित भेगन सदस्यहरुको सहभागिता रहनेछ ।
तीन चरणमा हुन लागेको सो महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ सम्म काठमाडौ सोल्टी होटल र पोखरामा असोज २ देखि ४ गतेसम्म होटल ग्रान्ड बिरौटामा हुनेछ ।
शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाकाहारी जीवनशैलीको प्रवर्द्धनसँगै नेपाललाई ‘भिगन डेस्टिनेसन’ का रुपमा समेत प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेसनका महासचिव अजित थापाले बताए । उनका अनुसार महोत्सवका आकर्षणमा एकसय भन्दा बढी अन्तराष्ट्रिय ख्यातिप्राप्त वक्ताहरुका ज्ञान अनुभव प्रवचन हुने, भिगन खानाका कक्षहरु, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तरक्रिया, चलचित्र प्रदर्शनी, भिगन दूध, दही मासु, चीज, केक र मिठाइँ बनाउने कार्यशाला कक्षाहरु , योग फिटनेस अभ्यास, भीगन च्यालेन्स, मनोरञ्जनात्मक गतिविधि महोत्सवको आर्कषकका रुपमा रहनेछन् ।
महोत्सव अवलोवकन निःशुल्क गर्न पाइनेछ भने महोत्सव भित्रका खानपानलगायत सेवा सुविधा उपभोग गर्न १० हजार रजिस्ट्रेसन शुल्क लाग्ने थापाले बताए ।
भिगन अर्गनाइजेसनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपाने कुनै पनि जीवजन्तु जनावरबाट आउने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुराहरु खाने जीवजन्य वस्तुहरुको प्रयोग नगर्ने, सबै प्राणीहरुप्रति दया, माया करुणामय व्यवहार अवलम्बन गर्ने जीवनशैली र भिगनवादको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पछिल्लो समय मानिसको खानपान र जीवनशैलीले मानवीय जीवनमा चुनौती थपिदै गएको बताउँदै भिगन महोत्सवले मानवीय जीवनमा यसको महत्वलाई उजागार गर्ने र पोखरालाई भेगन गन्तव्यका रुपमा चिनाउन पनि थप मद्दत पुग्ने बताए । उनले पोखरा आसपासका कुनै एक गाउँ ठाउँको प्रवर्द्धनका लागि भिगन होमस्टे बनाएर विश्वका भिगनिस्मलाई आर्कषण गर्न सकिने बताए ।
मानिस आफ्नो स्वाभाव र रुचिअनुसार रमाउने भएकाले पनि घुम्न आउने पर्यटकको रुचिलाई ख्याल गर्दै यस प्रकारका होटल रेस्टुरेन्टलाई पनि प्रवर्द्धन गर्न आवश्यता रहेको औंल्याए । यस्तै पोखरामा हुने भिगन महोत्सवलाई पोखरा पर्यटन परिषद्सँग सहकार्य गरी अघि जान तयार रहेको धारणा राखे ।
कार्यक्रमम रेवानका पूर्वअध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवर्द्धनमा भेगन महोत्सवले थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।