काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले बेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठबीच शुक्रबार महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन् ।
‘महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं,’ कार्यवाहक अध्यक्ष ढकालले भने ।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्न आवश्यक रहेको उनको विशेष जोड थियो । कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नुुपर्ने उनको सुुझाव थियो ।
कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवर्द्धन गर्ने कार्यमा र नेपालमा चिनियाँ पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।
कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्बीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिँदै त्यसमा सहयोग गर्न राजदूतसमक्ष आग्रह गरे ।
महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन् १९९६ मा स्थापित नेपाल–चीन गैरसरकारी सहयोग मञ्चमार्फत दुई देशबीच आर्थिक, व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, सीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा कुटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्नेमा ढकालको जोड थियो ।
सो अवसरमा राजदूत श्रेष्ठले महासंघसँगको भेटघाट उपलब्धिमूलक भएको बताउँदै महासंघबाट आएका सुुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिए । उनले कृषि क्षेत्रको विकासमासहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भित्र्याउनाका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि बताए ।
साथै नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक व्यावसायिक सम्बन्ध गास्ने रणनीतिसहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको भनाइ छ ।
सो भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सहसभापति बिनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो ।