काठमाडौं । राजधानीलाई मधेससँग जोड्ने बीपी राजमार्गको लम्बाइ घटेर १३९.६ किलोमिटरमा सीमित हुने भएको छ । सिन्धुलीको खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग बन्ने भएपछि बीपी राजमार्गको लम्बाइ घट्ने भएको हो ।
हाल बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) को कुल लम्बाइ १६० किमि छ । बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा ७.७ किमि लामो सुरुङ बन्ने भएपछि राजमार्गको लम्बाइ घट्ने सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेल बताउँछन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुन लागेको उक्त सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी रिपोर्ट) तयार भइसकेको छ ।
सन् २०२२ को फेब्रुअरीमा सुरुङमार्गको प्रि–फिजिबिलिटी अध्ययनको रिपोर्ट जाइकाले तयार गरेको उपमहानिर्देशक पोखरेलले बताए ।
सन् २०३१ सम्म निर्माण गर्ने लक्ष्य
जाइकाले कुनै पनि आयोजना निर्माण गर्दा अध्ययनमा धेरै समय लगाउने भएकाले तत्कालै सुरुङमार्ग निर्माण भने नहुने बताइएको छ । क्यापिटल नेपालसँग कुरा गर्दै विभागका उपमहानिर्देशक पोखरेलले भने, ‘जापानीजहरु सानो–सानो कुरा पनि राम्रोसँग अध्ययन गर्छन्, हाम्रोजस्तो छिटो अध्ययन हुँदैन । धेरै समय लगाएर राम्रो अध्ययन गर्ने उनीहरुको बानी नै हो ।’
उनका अनुसार जाइकाले सन् २०४१ सम्म सम्पन्न गर्ने जनाएको थियो । तर, सडक विभाग र विकास सहायता कार्यान्वयन महाशाखाले सन् २०३१ सम्म निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
‘उनीहरुले २०४१ सम्म निर्माण गर्ने भनेका थिए अझ हामीले छिटै गर्नु भनेको हो । पूर्वाधार निर्माणमा एकदमै ध्यान दिएर अध्ययनमा समय लगाउने गर्छ जापानले । तर, काम राम्रो हुन्छ,’ पोखरेलले भने ।
लागत ३७ अर्ब रुपैयाँ
प्रि–फिजिबिलिटीको ड्राफ्ट रिपोर्टले यसअघि खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न ३५ देखि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, प्रि–फिजिबिलिटीकै फाइनल रिपोर्टले भने ३७ अर्ब रुपैयाँ लाग्ने देखाएको उपमहानिर्देशक पोखरेलको भनाइ छ । उनका अनुसार ७.७ किलोमिटर लामो सुरुङमार्ग बन्ने अध्ययनले देखाएको छ ।
त्यस्तै १.६ किलोमिटर पहुँचमार्ग पनि निर्माण हुने छ । खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग निर्माण भएपछि २२ किमिभन्दा बढी सडकको दूरी छोटिने महाशाखाले जनाएको छ । प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न भए पनि सुरुङको दुवैतर्फको सुरुवाती बिन्दु कहाँ बनाउने भन्ने निष्कर्ष निष्किएको छैन ।
महाशाखाका अनुसार खुर्कोटतर्फ मात्रै सुरुङको सुरुवात बिन्दु राख्न ५ ठाउँमा अध्ययन गर्ने जाइकाले जनाएको छ । यद्यपि ५ ठाउँमध्येबाट सबैभन्दा उपयुक्त ठाउँमा सुरुङको प्रवेशद्वार रहने छ ।
खुर्कोट–चियाबारी सुरुङमार्गको प्रि–फिजिबिलिटीे अध्ययन सीआईटी इन्टरनेसनल कम्पनी र ओरियन्ट कन्सल्टेन्टको जेभी पाटर््नरले गरेको थियो ।
प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न गरेपछि भने जाइकाले थप अध्ययन गरेको छैन । साथै थप अध्ययन गर्ने विषयमा अहिले कुनै जानकारी प्राप्त नभएको महाशाखाले जनाएको छ ।
जाइकाको सहयोगमा हाल नागढुंगा सुरुङमार्ग निर्माणाधीन छ । जलविद्युत् तथा खानेपानी आयोजनामा सुरुङमार्ग बने पनि सडक सञ्जालमा निर्माण हुन लागेको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो सुरुङमार्ग हो ।
२०७६ कात्तिक ४ गते शिलान्यास भएको नागढुंगा सुरुङमार्गको हालसम्म ३९ प्रतिशत काम सकिएको छ । ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग निर्माणको काम हालसम्म ३९ प्रतिशत मात्रै हुँदा निर्धारित समयमा सुरुङमार्ग सञ्चालन गर्न आयोजनालाई चुनौती बढ्दै गएको छ ।
नागढुंगा सुरुङमार्गको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ । नागढुंगापछि जाइकाको सहयोगमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न लागिएको हो । साथै हालसम्म नेपालमा सडक सञ्जालको क्षेत्रमा बनाउन लागिएका सुरुङमार्गमध्ये सबैभन्दा लामो सुरुङमार्ग खुर्कोट–चियाबारीकै हुने अध्ययनले देखाएको छ ।
नागढुंगापछि निर्माणको तयारीमा रहेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर ठेक्का सम्झौता भइसकेको पाल्पाको सिद्धबाबा सुरुङमार्गको काम आगामी मंसिरबाट सुरु हुनेछ । सिद्धबाबा सुरुङमार्ग भने सरकारले आफ्नै लगानीमा बनाउने तयारी गरेको छ ।
त्यस्तै दोलखाको लामाबगर सुरुङमार्गको डीपीआर तयारी भए पनि सवारीको चाप कम हुँदा ठेक्का सम्झौताको प्रक्रिया नै अन्योलमा परेको छ । साथै सडक विभागले लामाबगरमा सुरुङ बने पनि फाइदा नहुने भएकाले तत्काल काम अगाडि नबढाउने जनाएको छ ।
त्यसबाहेक काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा ३ वटा सुरुङमार्ग निर्माण हुने भएका छन् । यद्यपि फास्ट ट्रयाक नेपाली सेनाले निर्माण गरिरहेकाले सडक विभागको विवरणमा भने फास्ट ट्रयाकका ३ वटा सुरुङको संख्या समावेश भएको छैन ।
हाल नेपालमा २ दर्जन बढी सुरुङमार्ग निर्माण हुने घोषणा गरिएको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका केही कर्मचारीहरु घोषणा भएका सबै ठाउँमा सुरुङमार्ग नबन्ने बताउँछन् ।
नेपालको अर्थतन्त्रले धान्न नसक्ने र सबै ठाउँमा सवारीसाधनको चाप पनि धेरै नभएको उनीहरुको तर्क छ । यद्यपि बीपी राजमार्गमा सवारी चाप बढी भएकाले सुरुङमार्गको आवश्यकता रहेको बताइएको छ ।
साथै जाइका पनि बीपी राजमार्ग आफैंले निर्माण गरेकाले सुरुङमार्ग बनाउन सकारात्मक देखिएको हो । जसका कारण खुर्कोट–चियाबारी सुरुङमार्ग बन्ने निश्चितजस्तै भएको छ ।
काठमाडौंबाट बनेपा–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापानले नेपाललाई हस्तान्तरण गरेको थियो । जसको लागत २६ अर्ब जापानी येन थियो ।