काठमाडौं । शुक्रबार दिउँसो हिमालयन र सिभिल बैंकबीच एक आपसमा गाभिने सम्झौताको मिति तय भएको थियो । हिमालयनको एकबराबर सिभिलको शून्य दशमलव ८१ दिने सहमतिपछि दुई बैंक एक आपसमा गाभ्न/गाभिन तयार थिए ।
सोहीअनुसार सम्झौताको मस्यौदा र मिति तथा स्थानसमेत टुंगो लागिसकेको थियो । कतिपय सञ्चारकर्मीलाई कार्यक्रममा सहभागिताका लागि आह्रवानसमेत गरिएको थियो ।
तर, मध्यरातमा हिमालयन बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) पश्चात् सिभिललाई अहिले दिने भनेको स्वाप रेसियो घटाउने बताएपछि शुक्रबारकाे सम्झौता टरेको छ । हिमालयन बैंक स्रोतका अनुसार अहिले शून्य दशमलव ८१ दिने भनेको हो । तर, डीडीएको रिपोर्ट हेरेर थप घटाउने कुराकानी भएपछि सिभिल मर्जबाट पछि हट्ने संकेत गरेको हो ।
हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीचकाे मर्ज पनि हिमालयनकै अधिकारीले भाँडेका थिए । एकबराबर एक स्वाप रेसियोमा दुई बैंक एकआपसमा गाभिने सम्झौता गरेका थिए । तर, डीडीए रिपोर्ट आएपछि पनि १० प्रतिशत तलमाथि भएमा १ः१ मै मर्ज गर्ने सम्झौता भएको थियो । तर, डीडीए रिपोर्ट आएपछि हिमालयनको १०० बराबर ७८ दिने बताएपछि नेपाल इन्भेस्टमेन्टसँगको मर्ज भाँडिएको थियो ।
अहिले सिभिलसँग पनि सोही स्थिति सिर्जना हुने भएको छ । हिमालयनका कन्जरभेटिभ सञ्चालनहरुले डीडीएपछि पुनः स्वाप रेसियो घटाउने बताएका थिए । त्यसका अलवा सम्मानजनक व्यवहार नगर्दा सिभिल हिमालयनसँग एमओयू नगर्ने पक्षमा पुगेको हो ।
स्रोतका अनुसार हिमालयनका सञ्चालकहरू अन्य बैंकसँग मर्ज गर्नै चाहँदैनन् भन्ने यहीँबाट बुझिन्छ । खासगरी, हिमालयन बैंकका प्रचण्ड श्रेष्ठहरुको बैंकमा हालीमुहाली छ । अर्को बैंकसँग मर्ज गर्दा आफ्नाे स्वार्थ पूरा नहुने देखिएपछि मर्ज भाँड्न अनेकन उपायहरु लगाउँछन् ।
इन्भेस्टमेन्ट बैंकसँग एमओयू भएपछि भाँडिएको हो । सिभिलसँग पनि त्यस्तै बखेडा निकालेर हिमालयनका सञ्चालकहरु मर्ज भाँड्न लागेको हिमालयन बैंककै अधिकारीहरु बताउँछन् ।