काठमाडौं । राजनीतिक नेतृत्व विवाद र चर्चा हुनु सामान्य हो । सरकारमा रहँदा होस् या बाहिर, राजनीतिक दलको नेतृत्वदायी भूमिकामा रहेका नेताहरु कहिले तारिफका फूलले सुसज्जित हुन्छन् भने कहिले गालीको वर्षा भेट्छन् । गणतन्त्र स्थापना भइसकेपछि पनि धेरैपटक सरकारको नेतृत्व फेरबदल भइरह्यो, मन्त्रीहरुको फेरबदलको त कुरै नगरौं । कतिपय अवस्थामा १३ दिनमै पनि मन्त्री फेरिएका पनि उदाहरण छन् ।
राजनीतिक स्वार्थपूर्तिकै लागि पटकपटक हुने मन्त्रीहरुको फेरबदलले कहिले नयाँ त कहिले पुराना अनुहारलाई अवसर सिर्जना गरिदिन्छ । तर, केही मन्त्रीहरुको चर्तिकला भने हेर्न लायक हुन्छ । अझ तिनै कतिपय नेतृत्वले नैतिकताको दोहन गर्दा नैतिकता भन्ने शब्द पनि कहिलेकाहीँ लजाउँदो हो । तर, जेसुकै भए पनि राजनीति गरेपछि नेताहरुलाई अवसरको भारी भने चाहेर वा नचाहेर आई नै रहन्छ ।
लोडसेडिङ हटाएर बिचौलियासँग रमाएका जनार्दन शर्मा ‘प्रभाकर’
प्रायः चर्चा र विवादमा रहिरहने व्यक्ति हुन्, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ । २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा ऊर्जा तथा जलस्रोतमन्त्री बनेका शर्मा एकाएक चर्चाको शिखरमा पुगे । ऊर्जामन्त्री बनेलगत्तै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरे । र, लोडसेडिङ अन्त्य पनि भयो ।
लोडसेडिङबाट हत्तुहैरान भएका नेपालीले ऊर्जामन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङको वाहवाही गरिरहे । लामो समयदेखि जारी लोडसेडिङ अन्त्य गरेको जस शर्माले आजपर्यन्त लिइरहेका छन् ।
त्यसपछि बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा शर्मा गृहमन्त्री बने । गृहमन्त्री रहेकै बेला २०७४ को आमनिर्वाचनअघि नेकपा एमालेसँग चुनावी गठन्धन बनाउने र त्यसपछि पार्टी एकीकरण गर्ने सवालमा शर्माको भूमिका अविस्मरणीय रहेको बताइन्छ ।
तर, एमालेसँग चुनावी गठबन्धन गर्ने घोषणासँगै प्रधानमन्त्री देउवाले शर्मासहित माओवादीका सबै मन्त्रीहरुलाई विनाविभागीय बनाएका थिए । विनाविभागीय मन्त्री भए पनि माओवादीका कसैले पनि राजीनामा दिएनन् । तर, जब सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण अमान्य घोषित गरिदियो त्यसपछि माओवादी केन्द्रलगायत एमालेकै नेताहरु पनि देउवालाई प्रधानमन्त्री बनाउन अग्रसर भए ।
सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै शर्मा २०७८ असार ३० गते अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाले । तर, जिम्मेवारी लिएसँगै शर्मा विवादमा पर्न थाले । अर्थतन्त्रको यथार्थ चित्रण गर्ने भन्दै श्वेतपत्र सार्वजनिक गरेका अर्थमन्त्री त्यहीँबाट विवादमा तानिन सुरु भए । त्यसपछि अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको बजेटमा स्पन्ज आइरन र तयारी बिलेटको आयातमा भन्सार हेरफेर गरेपछि शर्माको विरोध सुरु भयो ।
प्रतिस्थापन विधेयक संसद्मा टेबुल गरे पनि समयमा पारित गर्न चासो नदेखाएपछि नेपालको इतिहासमै बजेट शून्यता (बजेट होलिडे) अर्थात् गभर्मेन्ट सर्टडाउनको स्थिति आयो । यस्तो स्थिति आउनुमा अर्थमन्त्री शर्माको गैरजिम्मेवारीपनले काम गरेको भए पनि शर्माले भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण यस्तो स्थिति आएको भन्दै पन्छिइरहे ।
त्यसपछि पृथ्वीबहादुर शाहको नाममा आएको ४० करोड रुपैयाँ फुकुवा गर्न गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिनेदेखि गभर्नर अधिकारीलाई हटाउने मनसायका साथ जाँचबुझ समिति गठनका कुराले अर्थमन्त्री शर्मा थप विवादमा जेलिए । जति–जति शर्मा विवादमा जेलिँदै गए उति–उति उनका क्रियाकलाप झनै आक्रामक देखिन थाले ।
आर्थिक वर्ष २०७९÷८० को बजेट बनाउनँदा बिचौलिया प्रवेश गरेको विषयले प्रतिनिधिसभालाई तताएपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाउने सहमतिसँग अर्थमन्त्री शर्माले बुधबार नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरे । अर्थमन्त्री शर्माको राजीनामा माग्दै प्रमुख प्रतिपक्ष दलसहित सत्तापक्ष नेपाली कांग्रेसले पनि तीव्र दबाब दिइरह्यो ।
रुखबाट कार्बनडाइअक्साइड लिने प्रेमबहादुर आले
२०७८ असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका प्रेमबहादुर आलेको कार्यकाल पनि चर्चा र विवादमै बित्यो । नियुक्त भएको केही समयसम्म वाहवाही पाएका मन्त्री आले केही हर्कतका कारण पछिल्लो समय विवादमा तानिए । सरकारी जग्गा फिर्ता गराउनेदेखि बक्यौता नतिर्ने क्यासिनो बन्द गराउने विषयमा उनको चौतर्फी तारिफ सुरु भयो । तर, व्यक्तिगत कार्यशैलीलाई सुधार्न नसकेपछि विस्तारै विवादमा फस्दै गए । खासगरी पर्यटन मन्त्रालयमातहत हुने नियुक्तिमा बढी विवाद देखिन थाल्यो ।
हाल निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गरेको अश्लील गालीगलौज र दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएपछि आले थप विवादमा तानिए । उनको चौतर्फी राजीनामा माग भयो । तर, टसमस भएनन् । पछि नेकपा एसले फिर्ता बोलाएपछि पनि संसदीय दलको बैठक बोलाउनुपर्ने र आफूहरुले सिफारिस गरेका व्यक्तिहरु मन्त्री बनाउनुपर्ने सर्तमा मात्रै मन्त्रीबाट बाहिरिने प्रस्ताव पार्टीमा दर्ता गराएपछि आलेसहितका मन्त्रीहरु थप विवादमा परे । अन्ततः अराजक उपमा पाउँदै आले मन्त्रीबाट बिदा भए ।
त्यसो त २०७७ मा वन तथा वातावरणमन्त्री रहेका बेला पनि रुखबाट कार्बनडाइअक्साइड लिने अभिव्यक्ति दिएर चर्चामा आएका आलेका अक्सिजन सिलिन्डरमा फोटो टाँसेर झन् भाइरल भए । एमाले फुटाउन आवश्यक कोरम नपुगेर नेता माधवकुमार नेपाल रन्थनिएका बेला आलेले आफूसँग रहेका ७ सांसद नेपालका पक्षमा ल्याएर नेकपा एसको वैधानिक दिलाउन भूमिका खेलेका थिए । त्यसैको बदलामा उनले करिब ८ महिना पछिल्लोपटक मन्त्री बन्ने सौभाग्य पाएका थिए ।
ऊर्जाको ‘ऊर्जा’ सकेर श्रममा फसेका गोकर्ण विष्ट
गणतन्त्रपछि बनेको मन्त्रिपरिषद्का चर्चित व्यक्ति हुन्, गोकर्ण विष्ट । २०६५ माधवकुमार नेपाल नेतृत्वको सरकारमा ऊर्जामन्त्री हुँदा विष्टले विद्युत् प्राधिकरणको महसुल नतिर्ने सरकारी कार्यालय र व्यावसायिक फर्ममा बिजुली काट्ने अभियान थालेर चर्चा कमाएका थिए । विद्युत् महसुल नतिर्नेहरुको लाइन काट्न आफैंै विद्युत् पोलमा चढेर चर्चा कमाएका ऊर्जामन्त्री विष्टमाथि त्यसबेला अज्ञात समूहले खुकुरी प्रहार गरेको थियो । तर, त्यो घटना कसले घटायो भन्ने पुष्टि हालसम्म हुन सकेको छैन । विष्टले भने त्यसबेला बिजुलीको महसुल नतिर्नेहरुले आफूमाथि आक्रामण गरेको प्रतिक्रिया दिएका थिए ।
ऊर्जामा रहँदा राम्रो काम गरेका भनेर चर्चामा रहेका विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा विवादित बनेपछि उनले बीचमै मन्त्री पदबाट हात धुनुपर्यो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७४ सालमा श्रममन्त्री बनेका विष्टले २०७५ जेठ २ गते अवैध रुपमा मलेसिया रोजगारीमा कामदार पठाउने भेन्डरहरुले चर्को शुल्क उठाई कामदारलाई ठगी गरेको भन्दै भेन्डर खारेजीको निर्णय गरेका थिए । तर, आफैंले खारेजीको घोषणा गरेका भेन्डरलाई पछि ब्युँताएर मलेसियाको रोजगारी खुलाए, जसका कारण विष्ट लामो समयसम्म विवादमा रहे ।
बिचौलियासँगको मिलेमतोमा मलेसियाको रोजगारी बन्द गराएको आरोप उनीमाथि छ । चर्को दबाबपछि विष्टले झन्डै एक वर्षपछि मलेसियाको रोजगारी खुलाए पनि हालसम्म सहज रुपमा कामदारहरु जान पाउने अवस्था बनेको छैन । एमालेमै रहँदा माधव नेपाल समूहका मन्त्रीका रुपमा परिचित विष्ट एमालेमा १० भाइमध्ये एक भाइका रुपमा परिचित छन् । उनलाई आफ्नै दलका प्रधानमन्त्री ओलीलाई हटाउन विपक्षीसँग साँठगाँठ गरेको आरोपसमेत लाग्दै आएको छ ।
‘बोल्न पाइन्छ’ वाली रामकुमारी झाँक्री
एमालेकी समानुपातिक सांसद रामकुमारी झाँक्री एमाले फुटाउने अभियानकी प्रखर पात्रभित्र पर्छिन् । खासगरी एमाले फुटाउन १० भाइले साथ नदिँदा झाँक्री उम्दा कार्यकर्ता भएर अघि बढेकी थिइन् । एमाले सरकारको पालामा ‘बोल्न पाइन्छ’ भन्दै मुखमा टेप टाँसेर प्रदर्शन गरेर चर्चामा आइन् । यस्तै विभिन्न स्थानमा सरकारका प्रतिनिधिलाई दिइएको सलामीको खिसिट्युरीमा गर्ने उनी एमाले फुटाउने अभियानमा सरिक हुँदा निर्वाचन आयोगमा माधव नेपालको हात समाएर अघि बढाएको दृश्यले अधिक चचा पायो । सहरी विकासमन्त्री हुनेबित्तिकै १० करोड रुपैयाँसम्म काम उपभोक्ता समितिमार्फत गरिने व्यवस्थालाई खारेज गरेसँगै विवादमा परिन् ।
काठमाडौं महानगरको फोहर व्यवस्थापनमा सहरी विकास मन्त्रालयले चासो नदिएकाले समस्या भएको आरोप लागेको थियो । महानगरका नवनियुक्त मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायतलाई उपेक्षा गरेको भन्दै मन्त्री झाँक्रीको आलोचना भएको थियो । विगतमा सलामीलाई खिसिट्युरी गर्ने झाँक्रीले आफूलाई सलामी गर्नु सामान्य भएको प्रतिक्रिया दिएपछि व्यापक आलोचना भयो । र, अन्त्यमा मन्त्रालय छाड्नुअघि मन्त्रालयमै रोएपछि उनको आलोचना र समर्थन बरोबर भयो ।
पार्टीले भन्नासाथ मन्त्री पद नछाडेको भन्दै झाँक्रीको तीव्र विरोध भयो । आलेसँग मिलेर संसदीय दलको बैठक बोलाउन आग्रह गर्नेमध्येकी एक मन्त्री झाँक्री पनि थिइन् ।
जिब्राेले चिप्लिएका तामाङ
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्तिले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादको अग्निकुण्डमा तानिए । र, पछि २०७५ साउनमा राजीनामा पनि दिए ।
आफ्नो अभिव्यक्तिले कसैलाई ठोस पुर्याएर पदमा बसिरहन ठीक नहुने उनको निष्कर्ष थियो ।
रोपाइँमा रमाएका हरि पराजुली
२०७२ असार १७ गते कृषिमन्त्री हरि पराजुलीले पनि नैतिकताको आधारमा राजीनामा दिए । असार १५ मा धान दिवस मनाउने क्रममा एक महिलामाथि दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएसँगै उनको चौतर्फी आलोचनामा हुन थाल्यो । सोही कारण उनले पनि राजीनामा नदिई सुख पाएनन् ।
डिस हान्ने र कोल्याप्स गदिर्ने गोकुल बास्कोटा
२०७६ फागुनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनको अडियो सार्वजनिक भएपछि राजीनामा दिए । मन्त्री बास्कोटाले आफूमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिँदै छानबिनमा सहयोग गर्न भन्दै राजीनामा घोषणा मात्रै गरेनन्, काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दासमेत दर्ता गर्न भ्याए । खरो र ठाडो स्वभावका बास्कोटाको बारेमा मनोज गजुरेलले क्यारिचेर गरेपछि अझै चर्चामा आए । अझै पनि सामाजिक सञ्जालमा बास्कोटालाई लक्षित गर्दै ७० करोड, डिस हान्ने, कोल्याप्स हान्ने भन्दै आलोचना गरिन्छ ।
सरकार कसरी चलाउनुपर्छ भनेर सिकाउने मिनेन्द्र रिजाल
केपी शर्मा ओलीको सरकारको विरोध गर्दै ‘सरकार कसरी चलाउनुपर्छ भनेर हामी सिकाइदिन्छौं’ भन्दै ललकार्ने मिनेन्द्र रिजाल आफैं भने लामो समयमन्त्री रहिरहेनन् । नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा हारेपछि नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामा दिए ।
तिनै रिजाललाई गत सोमबार प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री ओलीले बजेटमा अनधिकृत व्यक्ति भित्र्याएको बारेमा डेढ घण्टा लामो प्रवचन दिँदै ‘सरकार कसरी चल्ने रहेछ भनेर देखियो’ भन्दै रिजाललाई व्यंग्य गरे ।