काठमाडौं । भारतको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ स्थित शिवभरि माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले शिवभरि माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनहरुको उद्घाटन गरेका हुन् ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाका रूपमा भारतको ५ करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोग उक्त भवनहरु निर्माण गरिएको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया ७५ आजादीका अमृत महोत्सव’ कै एक हिस्साका रूपमा विद्यालय भवनहरु उद्घाटन गरिएको हो ।
शिवभरि माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७०० र १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यी विद्यालयका लागि यस परियोजना अन्तर्गत निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्नेछ ।
सन् २००३ यता भारतले नेपालमा ५ सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा छन् ।
भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्छ । यी परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।