काठमाडौं । नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा गहन छलफल भएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।
परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय सञ्चिति, लगानी प्रवर्द्धन गर्न तत्काल एवं दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको हो ।
विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको छ ।
परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने उनको सुझाव थियो ।
अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराए ।
परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँँदै युवाहरुमा उद्यमी बन्ने चासो निकै बढेको बताए । उक्त फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको र ७ वटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको जानकारी पनि गराए ।
छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भीर रुपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिए ।
छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष च्याङ अग्रवाललगायत सहभागी थिए ।