काठमाडौं । एनआईसी एसिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । यो नयाँ योजना अझै लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।
बैंकले ल्याएको यो नयाँ योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टेस पठाउने ग्राहकलाई लक्षित गरिएको छ । छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नेछन् । यो नयाँ योजना अन्य बैंकको तुलनामा निक्षेपकर्तालाई अत्यधिक फाइदा रहेको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपाने बताए । यसले आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षा पूरा गर्ने विश्वास बैंकले लिएको न्यौपानेको भनाइ छ ।
बैंकले ल्याएको यो नयाँ योजनाले यसअघि ल्याएको निक्षेप खातामा पाइने फाइदाभन्दा अझ बढी फाइदा रहेको र मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने बैंकले जनाएको छ । यसअघि बैंकले ल्याएको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बिमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बिमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।
एनआईसी एसिया बैंकले ल्याएको यो नयाँ मुद्दती सेवा सेवाग्राहीले मुलुकभर छरिएर रहेका ३५९ शाखा कार्यालयबाट लिन सक्ने छन् । हालसम्म ४७३ एटीएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा गनिन पुगेको छ ।
देशको कुल जनसङ्ख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन सफल भएको बैंकले जनाएको छ ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।