काठमाडौं । देशभरका निजामती कर्मचारीहरुले आफ्नो नवीन सोच र इनोभेटिभ आइडियालाई प्रस्तुत गरेका छन् ।
निजामती कर्मचारीहरुमा रहेको नवीनतम सोचलाई प्रस्फुटन गरी कर्मचारीबीच उत्कृष्ट अभ्यास सिर्जना गर्ने उद्देश्यका साथ आइडियाले प्रतिभा डबलीको आयोजना गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा सञ्चालन गरेको कार्यक्रममा देशभरिबाट प्राप्त ३४ वटा आइडियामध्ये उत्कृष्ट १० विचारकहरुले आफ्नो सोच प्रस्तुत गरेका थिए ।
प्रस्तुत आइडियामध्येबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इलेक्ट्रोनिक इन्जिनियर नसिब आचार्यको सोच सरकारी पत्राचार सूचना र प्रवाह प्रणाली प्रथम, भीमेश्वर नगरपालिका दोलखाका उपसचिव मानबहादुर खड्काको सफ्टवेयरमा आधारित स्थानीय राजस्व व्यवस्थापन दोस्रो र कृषि विभागका कृषि प्रसार अधिकारी अरुण जीसी, ललितपुर महानगरपालिका कर्मचारी विजेता सुवेदीले पेस गरेको सरकारी गाडीहरुको व्यवस्थापन सम्बन्धीको आइडियाले तेस्रो पुरस्कार पाएका थिए ।
प्रथम, दृितीय र तृतीय हुने प्रतिस्पधी हरुलाई पचास हजार, चालिस हजार र तिस हजारसंगै सम्मान पत्रद्धारा सम्मान गरिएको थियो र छ जना सहभागी प्रतिस्पधीहरुलाई प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो ।
आइडियटर कर्मचारीहरुको निर्णायकका रुपमा भने संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, पूर्वसचिव बेगेन्द्रराज शर्मा पौडेल र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सहसंथापक डा.छिरिङ लामा थिए ।
मुख्यसचिव शंकरदास बैरागीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिभा डबली वा प्रतिभा प्रतिस्पर्धा देश र निजामती कर्मचारीको नौलो सुरुवात रहेको बताउँदै सरकारी कर्मचारीसँग पनि नयाँ विचार र क्षमताको कमी नभएको र देशलाई सकारात्मकतर्फ लैजाने क्षमता भएको बताए ।