काठमाडौं । डेढ दर्जन बिमा कम्पनी एक आपसमा गाभिने (मर्ज) मा जाने भएका छन । बिमा समितिले पुँजीवृद्धिको निर्देशन दिएसँगै कम्पनीहरु मर्जमा जुट्न थालेका हुन् ।
हालसम्म जीवन बिमातर्फ पाँच कम्पनीले मर्जसम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू) गरेका छन् । निर्जीवनतर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई मर्जमा जान नियामक बिमा समितिले अन्तिम स्वीकृतिसमेत दिइसकेको छ ।
त्यस्तै, जीवन बिमा कम्पनीतर्फ सानिमा लाइफ, महालक्ष्मी लाइफ, प्रभु लाइफ, एसियन लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जको अन्तिम तयारीमा छन । मर्जमा जुटेका कम्पनीले सहमतिअघि पाटर्नरको नाम उल्लेख गर्न भने चाहेनन् ।
त्यस्तै, सिटिजन्स लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायबल नेपालले भने मर्जमा जाने वा नजाने अझै टुंगो नलागेको बताएका छन् ।
प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी रहेका जीवन बिमा कम्पनीले भने संस्थापक सेयरधनीमार्फत पुँजी जुटाउँदैछन् । संस्थापकबाट पुँजी जुटाउँदा पनि यी कम्पनीलाई पर्याप्त हुने देखिँदैन ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले संस्थापक सेयरधनीबाट ५० प्रतिशत पुँजी उठाउने गरी सूचना जारी गरेको हो । तसर्थ संस्थापकमार्फत ७० करोड रुपैयाँ संकलन गर्दैछ । संस्थापकबाट पुँजी संकलन गरेपश्चात् कम्पनीको पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
संस्थापकबाट ५० प्रतिशत पुँजी उठाएर मर्जमा जाने तयारी भइरहेको छ । ‘संस्थापकमार्फत ५० प्रतिशत पुँजी संकलन गर्दा २ अर्ब १० पुँजी पुग्छ,’ कम्पनी स्रोतले भन्यो, ‘बाँकी आईपीओ निष्कासन गरी ३ अर्ब रुपैयाँ पुँजी जुटाउँछौं ।’
नेपाल लाइफसँग भने पर्याप्त पुँजी छ । विदेशी लगानी रहेको मेट लाइफले क्यापिटल इनजेक्ट गरेर पुँजी वृद्धि गर्ने जनाएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले भने पुँजी वृद्धिको सुरसार गरेको छैन । संस्थानको राष्ट्रिय बिमा संस्थान ऐन छ । ऐनले गर्दा पुँजी इनजेक्ट गर्न समस्या भएकाले कानुन संशोधन गरी अगाडि बढ्ने संस्थानको भनाइ छ ।
निर्जीवनतर्फ भने सानिमा जनरल, प्रिमियम, युनाइटेड, प्रभ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स मर्जरको अन्तिम तयारीमा पुगेका छन् ।
अन्य बिमा कम्पनीले मर्जको तयारी थाले पनि मर्जमा जाने कुरा बताउन चाहेका छैनन् । बिमा समितिले भने पुँजी पर्याप्त भएका दुई सरकारी, दुई अन्य र विदेशी लगानीको मेट लाइफबाहेक ३४ वटै बिमा कम्पनीलाई मर्जमा जान दबाब बढाएको छ । ३४ बिमा कम्पनीलाई मर्जमा नगई कुनै विकल्प छैन् ।
पुँजी न्यून भएका दुई कम्पनी एक आपसमा मर्ज हुँदासमेत बिमा समितिले ताकेको पुँजी पुग्दैन । अधिकांश जीवन बिमा कम्पनीहरुको पुँजी २ अर्ब रुपैयाँहाराहारी देखिन्छ । २/२ अर्ब पुँजी भएका कम्पनी मर्जमा जादा ४ अर्ब रुपैयाँ पुग्छ । तसर्थ अपुग पुँजी जुटाउन समितिले हकप्रदको सहुलियत दिने जनाएको छ ।
कम्पनीहरु मर्जमा जान राजीखुसी त थिएनन् । तर, बेला बेलामा समितिले दबाब दिँदै आएपछि मर्जरका लागि बाध्य भएको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले क्यापिटल नेपाललाई बताए ।
दबाबमा मर्ज भइरहेका कम्पनीको पुँजी मर्जरपश्चात् पनि तोकिए जति पुगेन भने हकप्रदको सहुलियत दिने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
एकातिर पौडेलले मर्जमा जाने कम्पनीको पुँजी नपुगे हकप्रद निष्कासन गर्न दिने भनेका छन् भने अर्कोतिर बिमा कम्पनीलाई आफूले मर्जमा जान फोर्स नगरेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउँदै आएका छन् ।
क्रस होल्डिङ भएका जालान् त मर्जमा ?
बिमा समितिले एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बिमा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिने रणनीति बनाएको छ ।
समितिले ३ निर्जीवन; नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र ६ जीवन बिमा नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आईएमई लाइफ, एलआईसी नेपाल र रिलायबल नेपाललाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यदि नसके अनिवार्य मर्जमा जानुपर्ने समितिको भनाइ छ ।
यीमध्ये ज्योति र सूर्याले मर्जमा जान एमओयू गरेका हुन् । त्यस्तै अन्य क्रस होल्डिङ भएका कम्पनी पनि मर्जमा जुटेका छन् । यता क्रस होल्डिङ भएको रिलायबल नेपाल लाइफले भने मर्जमा नजाने निर्णय गरेको छ ।
रिलायबलले संस्थापक सेयरधनीमार्फत शतप्रतिशत पुँजी थप्ने जनाएको छ । अहिले कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ भने थप १ अर्ब ४० करोड रुपैयाँ संस्थापकलाई थप्न भनेको छ । जसअनुसार कम्पनीको पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
रिलायबलले प्राथमिक सेयर निष्कासन नगरेकाले ३ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउँदा पुग्ने देखिन्छ । यद्यपि, कम्पनीले संस्थापकबाट शतप्रतिशत पुँजी जुटाउँदासमेत कम्पनीलाई ७० करोड रुपैयाँ पुँजी अपुग हुने देखिन्छ । यता समितिले क्रस होल्डिङ भएका कम्पनीले मर्जमा जानुपर्ने बताउँदै आइरहेको छ ।
संस्थापकमार्फत शतप्रतिशत पुँजी जुटाउदा पनि नपुग्ने र अर्कोतिर क्रस होल्डिङ भएको रिलायबल लाइफसँग मर्जबाहेक दोस्रो विकल्प छैन ।