काठमाडौं । व्यावसायिक घरना आईएमई ग्रुपले लुम्बिनी र मौलाकालीमा आउँदो माघ १ गतेदेखि केबलकार सञ्चालनमा ल्याउने भएको छ । ग्रुपको लगानीमा बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार र गैंडाकोटमा रहेको मौलाकाली केबलकार एकै दिन सञ्चालनमा आउने भएको हो ।
दुवै केबलकार माघ १ गते सञ्चालनमा ल्याउने गरी काम भइरहेको ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनका अनुसार दुवै केबलकारको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।
लुम्बिनी केवलकार प्रालिले निर्माण गरिरहेको केबलकारको लागत साढे ३ अर्ब रुपैयाँ र मौलाकाली केबुलकार कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएका हुन् । दुवै आयोजना सम्पन्न भएपछि मात्रै लागत यकिन हुने छ ।
ग्रुपले केबलकारसँगै बुटबल र मौलाकालीमा होटल पनि सञ्चालनमा ल्याउन तयारी थालेको छ । ग्रुपको मुख्य लगानीमा राजधानीको चन्द्रागिरिमा डिलक्स होटलसहित केबलकार सञ्चालन भइरहेको छ । निर्माण सम्पन्नपछि दुवै केबलकार कम्पनीहरुले सर्वसाधारणका प्राथमिक सेयर (आईपीओ) समेत निष्कासन गर्नेछन् ।
बुटवलदेखि पाल्पासम्म केबलकारको लम्बाइ ३ किलोमिटर हुनेछ । लुम्बिनी केलवकारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षअघि बुटवलमा शिलान्यास गरेका थिए । केवलकारले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेछ ।
बुटवल उपमहानगरपालिका ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा केबलकारको माथिल्लो तथा अन्तिम स्टेसन र वसन्तपुर डाँडामा टप स्टेसन तथा होटल कम्प्लेक्स रहनेछ ।
वसन्तपुरमा कामेक्षा मन्दिर निर्माण र १५० कोठासहितको सुविधासम्पन्न होटल तथा रेस्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी गरिएको छ । वसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तव्य बनाउनाका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यानहरु निर्माण गरिने योजना केबलकारको छ । १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाइ छ ।
बटम स्टेसनदेखि टप स्टेसन अर्थात् वसन्त डाँडामा पुग्न १० मिनेट लाग्नेछ । मनोकेबल डिट्याचेबल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्नेछ ।
गोन्डालाको संख्या २४ रहेको छ । यस्तै केबलकार टावर ९ वटा हुने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय केबलकार उत्पादक तथा परामर्शदाता कम्पनी डोपलमेयर रहेको छ ।
यस्तै ग्रुपको लगानीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण भइरहेको छ । मन्दिरनजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेसन निर्माण हुनेछ । मौलाकालिका फेदीमा बटम स्टेसन हुनेछ ।
केबुलकारको एकतर्फी लम्बाइ १ हजार २०० मिटर लामो हुनेछ । त्यसमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए । केबुलकार सञ्चालनमा आएपछि १० मिनेटमा मौलाकालिका मन्दिर पुग्न सकिन्छ । अहिले मन्दिर पुग्न ४५ मिनेट समय लाग्ने गरेको छ ।
ग्रुपले कर्णाली चिसापानीमा पनि केबलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको अध्यक्ष ढकालले सुनाए । उनले ७ वटै प्रदेशमा केबलकार सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
मधेस प्रदेशमा केबलकारको सम्भाववना नभएकाले कागज कारखाना सञ्चालनमा ल्याउने ढकालकाे भनाइ छ । महोत्तरीमा कागज कारखाना पूर्वाधारको काम भइरहेको उनले क्यापिटल नेपाललाई सुनाए ।
ग्रुपले चन्द्रागिरि केबलकारका अतिरिक्त आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक, आईएमई पे, २७ मेगावाटको दोर्दीखोला (सञ्चालनमा आउने तयारीमा) ४२ मेगावाटको मिस्त्रीखोला (सञ्चालनमा आइसकेको) कागज कारखाना, पोखरामा द लेकसाइट रिट्रिटलगायत होटलहरुमा लगानी विस्तार गरिरहेको छ ।