काठमाडौं । कोरोना महामारीको असर हटेपछि ठूलो लगानीमा पाँचतारे स्तरका होटल निर्माण हुने क्रम बढेको छ । यस्तै निजी लगानीमा राजधानीको कान्तिपथमा पाँचतारे होटल सञ्चालनमा आउने भएको हो ।
ओएसिस होटल प्राइभेट लिमिटेडले आगामी ४ वर्ष अर्थात सन् २०२६ मा पाँचतारे होटल सञ्चालनमा ल्याउने भएको छ । सन् २०२२ को अन्तिमदेखि होटल निर्माण सुरु गर्ने लक्ष्य कम्पनीको छ । होटलमा विभिन्न सुविधासम्पन्न १६६ वटा कोठाहरु हुने छन् ।
होटलसँगै कमर्शियल कम्प्लेक्स पनि निर्माण हुने ओएसिसले जनाएको छ । होटलको भवन परिसर करिब १० रोपनी क्षेत्रफल जमिनमा हुनेछ।
यो होटल विल्कुलै नयाँ अवधारणा सहितका सेवा सुविधा दिने गरी आउन लागेको जनाइएको छ । होटलको योजना कोभिडअगाडि नै बनाइए पनि पछि धकेलिएको हो ।
पर्यटन, कृषि र हस्पिटालिटी क्षेत्रमा कार्यरत लगानीकर्ता अमृतरत्न शाक्य र सूवर्णकृष्ण श्रेष्ठको संयुक्त लगानीमा होटल आउन लागेको हो । जग्गाको मूल्यलगायत विभिन्न कारण होटलको लागत लगभग २२ प्रतिशतले बढेको ओएसिसले जनाएको छ ।
होटलको अनुमानित लागत ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ छ । जसअनुसार ६० प्रतिशत बैंकको ऋण र बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइने गरी लगानी संरचना तयार पारेको ओएसिसले जनाएको छ । कुल लागतको २२ प्रतिशत रकम जग्गा खरिदलगायतमा लगानी भइसकेको छ । ओसिस होटल सन् २००६ मा स्थापना भएको हो ।
होटलले ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्रा एनपी ए फोर रेटिङ दिएको छ । सरकारले प्रोत्साहनका लागि ठूला होटलका लागि कर छुट जस्ता प्रावधानहरू ल्याएको छ ।
परियोजनाहरू, पर्यटनसँग सम्बन्धित परियोजनाहरूका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण दिने सीमा तोकेको छ। यसले गर्दा पनि ठूला होटलहरु बन्ने वातावरण तयार भएको हो ।
कोरोना महामारीको समयमा लागू गरिएको विश्वव्यापी र राष्ट्रिय लकडाउन र नेपाल भ्रमण वर्ष रद्द भएर नकरात्मक अवस्था सिर्जना गरे पनि आगामी वर्ष पर्यटन क्षेत्रमा दीर्घकालीन अवस्था भने सकारात्मक देखिएको छ ।