काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक सामान्य अंकले बढेको छ ।
यस दिन नेप्से परिसूचक १३.३३ अंकले बढेर २ हजार ४३ बिन्दुमा पुगेको छ । जुन ०.६६ प्रतिशत बढेको हो । आज २ हजार ३६ बिन्दुमा खुलेको बजार उतारचढाप खेप्दै २ हजार ४३.९२ बिन्दुमा उक्लिएको छ ।
सामान्य अंकले बढेको बजारमा २ अर्ब १७ करोडको बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने कम हो ।
अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ५८ करोडको कारोबार भएको थियो । बढेको बजारमा कारोबार रकम घट्नु सकारात्मक मानिन्छ । आज सामान्य अंकले बढेको बजारमा कारोबार घट्नुले पछिल्लो कारोबारका लागि राम्रो संकेत हो ।
बढेको बजारमा कारोबार घट्दा बजारमा क्रेता रहेको तर, बिक्रेता कम रहेको आंकलन गरिन्छ । तर्सथ आज कारोबारमा आएको गिरावटले पछिल्लो कारोबारको सुरुवाति अवस्थालाई सहयोग पुग्ने देखिन्छ ।
आज नेप्सेमा २२८ कम्पनीको ६२ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोसन सेयर मूल्य १० प्रतिशतका दरले बढेर कारोबार भएको छ । त्यस्तै सिवाई नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै एनसीसी बैंकको ऋणपत्रमा सर्वाधिक ५.८९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, किसान लघुवित्तको ४.३० प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।
आज नेप्सेमा गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ७२ लाख लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।