काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक मर्ज हुने पक्कापक्की भएको छ । एनआईबीएलसँगको मर्जर भाँडिएपछि अर्को संस्थासँग गाभिनैपर्ने दबाबमा रहेको हिमालयनले सिभिलसँग मर्ज गर्न लागेको हो ।
हिमालयनले १०० बराबर ८१ रेसियामा सिभिललाई मर्ज गर्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुवै संस्थाबीच औपचारिक सहमति जेठ २४ गते (शुक्रबार) हुने छ ।
एनआईबीएलसँगको मर्जर भाँडिएपछि राष्ट्र बैंकले असारभित्र हिमालयनलाई अर्को संस्थासँग मर्जमा नगए यसअघि दिइएको सुविधा खोस्ने मौखिक निर्देशन दिएको थियो ।
त्यही भएर पनि हिमालयनले सिभिललाई गाभ्ने प्रकृया अगाडि बढाएको हो । यसअघि पनि हिमालयनले सिभिलसँग १००ः३५ को रेसियोमा गाभ्न प्रस्ताव गरेको थियो ।
सिभिललाई सस्तो दरमा प्रस्ताव गरेको हिमालयनले ठूलो बन्ने चक्करमा नेपाल इन्भेस्टमेन्टसँग अगाडि बढ्ने निधो गर्यो ।
अन्ततः यी दुईबीचको मर्जर सफल हुन सकेन । तत्पश्चात् हिमालयनले संकट टार्न भए पनि सिभिललाई राम्रो दरमा प्रस्ताव गर्दा यी दुईबीचको मर्जर अन्तिम चरणमा आइपुगेको छ ।
मर्जरपछि बन्ने संस्थाको नाम हिमालयन बैंक नै हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका अशोक राणाले नै निरन्तरता पाउने छन् ।
नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनील पोखरेल हुनेछन् । हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने बुझिएको छ ।
हाल हिमालयनको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभलको ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । मर्जपश्चात् भने बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।
हालसम्म चार वाणिज्य बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति दिएको छ । नेपाल राष्ट्र बैंकले ग्लोबल र बिओके तथा नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ ।