लमजुङ । मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।
दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेका उद्योग आर्थिक वर्ष (आव) २०७८-७९ को साउनदेखि असार २१ गतेसम्मका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताइन् ।
उनका अनुसार यस अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै, उक्त अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको छ । आव २०७७-७८ मा ९७० नयाँ उद्योग दर्ता र ३६९ उद्योग नवीकरण भएका थिए ।
कार्यालयले अघिल्लो आव २०७६-७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । यस्तै आव २०७५-७६ मा पनि ६ वटा उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ । उक्त आवमा ४६८ नयाँ उद्योग दर्ता र २७० उद्योगको नवीकरण भएको थियो ।
कार्यालयका अनुसार आव २०७४-७५ मा १० उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा छ ।
त्यस्तै, आव २०७३-७४ मा ८ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८-७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताइन् ।
यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएको छ ।
साथै आव २०७७-७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । आव २०७६-७७ मा २५ खारेज भएको थियो । सो अवधिमा ७६२ वाणिज्य दर्ता तथा ३२० को नवीकरण भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो ।
त्यस्तै, ७६२ वटा नयाँ दर्ता र ३२० नवीकरण भएको थियो । आव २०७५-७६ मा २३ वाणिज्य दर्ता खारेज भएका थिए भने ४१४ दर्ता एवं ४५८ को नवीकरण भएका र २१० नयाँ दर्ता तथा २६४ नवीकरण भएका कार्यालयले जनाएको छ ।