काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर लाइसेन्सका लागि कोटा प्रणाली खारेज गरेको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सको लागि आवेदन खुला गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव गरेको हो ।
धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा एक महिनाभित्र आवेदन माग गर्नेछ । सोपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसका लागि धितोपत्र बजारसमक्ष निवेदन दिन सक्ने छन् ।
साथै संशोधित नियमावलीमा बोर्डले तीन तहको धितोपत्र दलाल हुने प्रस्ताव गरेको छ । बोर्डले सेयर ब्रोकरहरुलाई सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्णकार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन प्रकारमा विभाजन गरेको छ ।
प्रस्तावित नियमावलीअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि बोर्डले न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गरेको छ ।
पूर्णकार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरुलाई भने खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ । यस प्रकारको ब्रोकर कम्पनीको चुक्ता पुँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको हो ।
धितोपत्र व्यापरी लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ । धितोपत्र व्यापारीले धितोपत्र दलालको कार्यसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन्। त्यस्तै, स्टक डिलरका रूपमा स्थापना हुने कम्पनीले धितोपत्र प्रत्याभूति कार्यका साथै योग्य संस्थागत लगानीकर्ताका रूपमा पनि काम गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ ।
हाल नागरिक लगानी कोषले मात्र यस्तो लाइसेन्स पाएको छ। प्रस्तावित व्यवस्थाअनुसार थप कम्पनी पनि डिलरको लाइसेन्स पाउने छन् ।
तीन किसिममा विभाजन गरिएका सेयर ब्रोकर लाइसेन्सको दस्तुर पनि बोर्डले तहअनुसार निर्धारण गरेको छ ।