काठमाडौं । चार महिनादेखि घुसकाण्डमा मुछिएको भनेर विवादमा आएका नेपाल राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार कर्णमाथि सरकारले अझसम्म जाँचबुझ समिति गठन गरेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मनाएर गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने मनसायका साथ चैत २४ गते जाँचबुझ समिति गठन गर्न सफल भएका अर्थमन्त्री जनार्दन शर्माले घुसकाण्डामा मुछिएका कर्णमाथि भने उदारता देखाएका छन् । यद्यपि, गभर्नर अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत नियमित कामकाजमा छन् ।
चैत २४ गते जाँचबुझ समिति गठन गरेसँगै स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीसँग मञ्च सेयर गर्दै राष्ट्र बैंकको सञ्चालकले घुस मागेको देख्दा पनि गभर्नरले केही नगरेको भन्दै अर्थमन्त्री शर्माले आलोचना गरेका थिए । कर्णले त्यतिबेला चौधरी ग्रुपसँग ३० हजार डलर मागेको समाचार हिमाल खबरले प्रकाशित गरेको थियो ।
तर, अर्थमन्त्री शर्माले ४ महिना गुज्रिसक्दा पनि सञ्चालक कर्णमाथि छानबिन गर्न जाँचबुझ समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लग्न पर्नेमा सो नगरी कर्णलाई उदारताका साथ छाडिदिएका छन् । यद्यपि, गभर्नर अधिकारीले भने आफूमाथिको जाँचबुझ समिति बन्दाको समयमा नै एक महिनादेखि सञ्चालक कर्णलाई सञ्चालक समिति बैठकमा नबोलाएको बताएका थिए । त्यसको अर्थ सञ्चालक कर्ण ४ महिनादेखि राष्ट्र बैंकको सञ्चालक समितिमा संग्लन छैनन् । तर, राष्ट्र बैंकको सञ्चालक समितिको हैसियत उपभोग गरिरहेका छन् ।
वरिष्ठ चार्टर्ड एकाउन्टेन कर्ण नेपाल धितोपत्र बोर्डका सञ्चालक, नेपाल चार्टर्ड एकाउन्टेन संस्था (आईक्यान)का अध्यक्ष, दक्षिण एसियाली देशहरुमा वित्तीय व्यवस्था र व्यापारका अन्य वैधानिक आवश्यकताहरु अध्ययन गर्ने समितिको अध्यक्ष, साउन एसियन फेडेरेसन अफ एकाउन्टेन्स् (साफा)का सदस्य, पानीको शुल्क निर्धारण बोर्डको आर्थिक सल्लाहकारसमेत रहेका थिए ।
कर्ण २०७५ वैशाख ११ देखि राष्ट्र बैंकको सञ्चालक छन् । राष्ट्र बैंकको सञ्चालकले स्वतः राजीनामा नदिएको अवस्थामा सरकारले जाँचबुझ समिति बनाएर सो समितिको सिफारिसको आधारमा हटाउनुपर्ने हुन्छ । गभर्नर अधिकारीले कर्णलाई ‘तपार्ईंमाथि पैसा मागेको आरोप लागेको र त्यसको निक्र्योल नभएसम्म सञ्चालक समिति बैठकमा सहभागी गराउन नसकिने’ बताएर ४ महिनादेखि सञ्चालक समिति बैठकमा सहभागी गराएका छैनन् । गभर्नरको तहबाट गर्न सक्ने कारबाही यही मात्रै हो । थप कारबाही गर्न सरकारको अग्रसरता चाहिन्छ । कित स्वयं सञ्चालक नै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।
चार महिना बित्तिसक्दा पनि सञ्चालक कर्णले नैतिकताको बाटो रोजेनन्, हरेक क्षेत्रमा नैतिकताको ठूलो अर्थ हुन्छ नै । अझै चार्टर्ड एकाउन्टेन्टमा नैतिकताको महत्व झन् ठूलो हुन्छ । तर, सञ्चालक कर्णले नैतिकता तिलाञ्जली दिएर राजीनामा गरेनन् भने सरकारले पनि गभर्नर हटाउन नसकेको आवेग मत्थर बनाउँदै घुस काण्डमा मुछिएका सञ्चालक कर्णलाई साथ दिइरहेको छ ।