काठमाडौं । आउने मौद्रिक नीतिमा ४/१२ को व्यवस्था हटाउने हल्ला चलेपछि उचालिएको सेयर बजार पुनः ओरालो लागेको छ ।
केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आवमा लिएको नीति सफल भएको र यी व्यवस्था आउने मौद्रिक नीतिमा समेत समावेश हुने बताएपछि त्यसको असर मंगलबारको सेयर बजारमा परेको छ ।
केन्द्रीय बैंकका गभर्नर अधिकारीले बैंकरसँग पोखरामा भएको कार्यक्रममा र सोमबार राजधानीमा भएको कार्यक्रममा आफूले ल्याएको मौद्रिक नीति सफल भएको र ती कार्यक्रमहरु आउने मौद्रिक नीतिमा समेत समेटिने बताएपछि मंगलबार सूचक ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा आइपुगेको छ । सोमबार २१४८.६१ सम्म पुगेको बजार अन्तिम समयमा आइतबारको तुलनामा १० अंकले घट्दै २०७६.६७ बिन्दुमा रोकिएको थियो ।
केन्द्रीय बैंकका गभर्नर अधिकारीले ४/१२ को नीति सफल भएको र आउने मौद्रिक नीतिमा समेटिने संकेत गरेको हुन् । त्यसैले गर्दा बजार प्रभावित भएको हो ।
लगानीकर्ताले ४/१२ को नीति आउने मौद्रिक नीतिबाट हट्ने हल्ला चलाएर बजार बढाएका थिए । गत हप्ता त्यही फन्डाको असर सेयर बजारमा परेको छ । १८ सयसम्म आइपुगेको बजार २ हजार अंकमाथि त्यही हल्लाले पुगेको थियो । तर, केन्द्रीय बैंकका गभर्नर अधिकारीले चालू आवका नीति सबै आउने मौद्रिक नीतिमा समावेश हुने बताए पछि पुन बजार खसेको हो ।
सोमबार कारोबार रकममा पनि तुलनात्मक उछाल देखिएको थियो । ६७ दिनपछि ४ अर्ब २८ करोडको सेयर किनबेच भएको थियो । तर, मंगलबार भने कारोबार रकम केही खच्किएको छ । यसदिन २ अर्ब ९६ करोडमा सीमित भएको छ ।
घटेको बजारलाई समर्थन गर्ने १७५ कम्पनीमध्ये सबैभन्दा बढी घलेम्दी हाइड्रोको ६.६ प्रतिशतले सेयर मूल्य घटेको छ । घटेको बजारमा पनि केही कम्पनीहरुमा उछाल देखिएको छ । नियमित कारोबारमै रहेको सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने न्यादी ग्रुप पावरको ९.९७ र आँधीखोला जलविद्युतकाे ९.६१ प्रतिशले मूल्य बढेको छ । उता, ३ अर्ब हाराहारी सेयर किनबेच भएको मंगलबार सानीमा बैंकको संथापक सेयर ३० करोड २० लाख रुपैयाँ बरारबको कारोबार भएको छ ।