विद्युतीय दुईपांग्रे सवारीसाधनमा निरन्तर आगलागीका घटना हुन थालेपछि भारत सरकारले विद्युतीय गाडी उत्पादक कम्पनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
सरकारले ओला इलेक्ट्रिक, ओकिनावा अटो टेक र प्योर ईभीजस्ता विद्युतीय गाडी उत्पादकहरूलाई कारण देखाऊ नोटिस पठाएको हो । उनीहरूलाई गुणस्तरहीन इलेक्ट्रिक गाडी बिक्रीवितरणका लागि किन दण्डात्मक कारबाही गर्न नहुने ? भन्ने प्रश्न गरेको छ ।
केन्द्रले जुलाई अन्तिमसम्म स्पष्टीकरण दिने समय दिएको छ ।
जवाफ आएपछि र ईभी निर्माताहरुको गल्ती भेटिएपछि सरकारले कारबाहीको प्रक्रिया अघि बढाउनेछ ।
गत महिना केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण, जुन केन्द्रीय उपभोक्ता मामिला मन्त्रालयअन्तर्गत पर्दछ । उसले गएको अप्रिलमा ई–स्कुटरहरू विस्फोट भएपछि प्योर ईभी र बुम मोटरलाई चेतावनीसहित नोटिस पठाएको थियो ।
सडक यातायात र राजमार्ग मन्त्रालयले पनि ईभी निर्माताहरूलाई पठाएको कारण देखाऊ नोटिसको जवाफ पर्खिरहेको छ ।
सरकारद्वारा गठित छानबिन समितिको प्रारम्भिक निष्कर्षले पनि देशमा भएका लगभग सबै विद्युतीय दुईपांग्रे सवारी आगोका घटनाहरूमा ब्याट्री सेल वा डिजाइनमा समस्याहरू पहिचान गरेको छ ।
विशेषज्ञहरूले लगभग सबै ईभी आगोमा ब्याट्री सेलहरू र ब्याट्री डिजाइनमा त्रुटिहरू फेला पारेका छन् । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन, जसलाई पहिले सडक यातायात र राजमार्ग मन्त्रालयले दुईपांग्रे सवारीसाधनमा आगलागीका घटनाहरूको छानबिन गर्ने जिम्मा दिएको थियो । उसले पनि दुईपांग्रे सवारीका ब्याट्रीहरूमा गम्भीर त्रुटि फेला पारेको थियो ।
ओकिनावा अटोटेक, प्योर ईभी, जितेन्द्र इलेक्ट्रिक भेहिकल, ओला इलेक्ट्रिक र बुम मोटर्सजस्ता बिजुलीका दुईपांग्रे सवारी उत्पादकहरूले लागत घटाउन तल्लो ग्रेडको सामग्री प्रयोग गरेकोे डीआरडीओको अनुसन्धानले खुलासा गरेको थियो ।
भारतीय मानक ब्युरोले अब देशमा बढ्दो आगलागी एपिसोडहरूको बीचमा उपभोक्ताहरूको सुरक्षा गर्न लिथियम आयन ब्याट्रीहरूका लागि नयाँ प्रदर्शन मापदण्डहरू जारी गरेको छ । केन्द्रीय सडक यातायातमन्त्री नितिन गडकरीले पहिले नै ईभी निर्मातालाई लापरबाही गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘कुनै कम्पनीले आफ्नो प्रक्रियामा लापरबाही गरेको पाइयो भने कडा जरिवाना लगाइनेछ र सबै गुणस्तरहीन सवारीहरूलाई फिर्ता बोलाउने आदेश पनि दिइनेछ,’ उनले भने ।