काठमाडौं । इन्टरनेशनल रोबोटिक ओलम्पिक्समा नेपालको तर्फबाट ‘रोबोर्ट गोर्खे’ ले प्रतिस्पर्धा गर्ने भएको छ । अक्टोबर २४ देखि २८ सम्म दुबईमा आयोजना हुने ग्लोबल च्यालेन्ज २०१९ मा बिश्वका १ सय ८६ मुलुकले प्रतिस्पर्धा गर्दैछन् ।
ओलम्पिकमा ‘रोबोर्ट गोर्खे’ निर्माण गर्ने टिम नेपालका सात सदस्यीय टोली सहभागी हुनेछन् । ‘ओसन क्लिनिङ’ अर्थात् समुद्रको सरसफाईको थिम रहेर रोबोर्ट च्यालेन्ज हुने टोलीका एक सदस्य शिशिर सुबेदीले जानकारी दिए ।
‘समुद्रको थिम भएकोले नेपालमा यसको सान्दर्भिकता छैन’ उनले भने, ‘तर नेपालका खोलानाला, ताल तलैया सरसफाइमा उपयोग हुने किसिमले डिजाइन गरेका छौं ।’
कसरी हुन्छ प्रतिस्पर्धा ?
प्रतिस्पर्धाको मैदानमा पोलुटेन्ट बलहरु छरिएर राखिएका हुन्छन् । रोबोर्टले छरिएर राखिएका ती बलहरुलाई उठाएर डम्पिङ साइटमा राख्नु पर्छ । छरिएका बलहरु रोबोटले अघि पछि सरेर टिप्छ । फोहोर राख्ने डष्टबिन डेढ मिटर अग्लो हुन्छ ।
यो रोबोर्टभन्दा धेरे बढी उचाई हो । सोहिकारण रोबोटको पछिल्लो भागमा छुट्टै सुटिङ मेकानिज्म बनाइएको छ । जसले फोहोरलाई कन्टेनरबाट सुट गरेर डस्ट बीनमा फयाँकेर सफा गर्नसक्छ । नेपाली टोलीले बनाएको यो रोबोर्ट ‘प्रोटोटाइप’ मात्र हो । यो कुनै तयारी कमर्शियलाइज प्रोडक्ट नभएको उनिहरुको भनाई छ ।
फण्डको समस्या
ग्लोबल च्यालेन्जमा सहभागी हुन टोलीलाई १० हजार डलर चाहिन्छ । सोहि कारण फण्ड संकलन गर्न रोबोट एसोशिएसन नेपालले पनि सहयोग गरिरहेको एक सदस्यले बताए । आवश्यक सामानहरु भने आयोजकले नै उपलब्ध गराएको छ ।
टिम नेपालका सदस्य
रोबोटिक च्यालेन्जमा नेपालको तर्फबाट शिशिर सुवेदी, श्रीजन घिमिरे, सार्थक सेन, उमंग रेग्मी, आदित्य ढुंगाना भाग लिँदै छन् । उनीहरुको साथमा मेन्टर इंन्जिनियर मनोज लेखक र इन्जिनियर निरज प्रधान पनि सहभागी हुनेछन् ।