काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि १५० जना नयाँ जनशक्ति थपी काम सुरु गरेको छ ।
महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थप गरेको जनाएको छ ।
यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी महानरगमा आबद्ध थिए । हाल १ सय १५० जना थप गरिएको वातावरण तथा कृषि व्यवस्थापन विभाग प्रमुख सरिता राईले बताइन् ।
सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र (वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२), पश्चिम क्षेत्र (१३, १४, १५, १६, १७) उत्तर क्षेत्र (१, २, ३, ४, ५, २६ र ३०), मध्य क्षेत्र (११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९) हुन् ।
५ क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ ।
रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्यान्डको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको भट्टको भनाइ छ ।
काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक÷एक जना नगर प्रहरीलाई कमान्डरसमेत तोकिएको नगर प्रहरी शाखाले जनाएको छ ।
यसरी खटाइएका जनशक्तिले सडक र किनार सफाइ गर्ने, फोहोर बटुल्ने, किनारको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल र काँटछाँटको काम गर्छन् ।