काठमाडौ । नेपाल वायुसेवा निगम सुधारका लागि सरकारले गठन गरेको कार्यदलले थप २ ओटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ ।
निगममा पर्याप्त जहाज नभएकै कारण आम्दानी गर्न नसकेको निश्कर्ष निकाल्दै कार्यदलले थप जहाज खरिदको सुझाव दिएको हो । कार्यदलले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनमा जाहाज सिधै एयरबसबाट खरिद गर्नुपर्ने र जहाज खरिद गर्दा बैङ्क ग्यारेन्टी अनिवार्य गर्न सुझाएको छ ।
मन्त्री भट्टराईले निगम सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका थिए । पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको कार्यदलले बनाएको प्रतिवेदन बुधबार मन्त्री भट्टराईलाई बुझाएको हो । प्रतिवेदनमा निगम सुधारका लागि तत्कालका लागि विदेशी रणनीतिक साझेदार ल्याउन सुझाव दिएको छ ।
कार्यदलले निगमको वित्तीय संरचना सुधार आवश्यक भएको औल्याएको छ । निगमको ब्यवस्थापकीय सुधार गर्न विदेशी रणनीतिक साझेदार आवश्यक भएको सुझाव दिएको छ । रणनीतिक साझेदार नभई निगमको सुधार नहुने निश्कर्ष छ ।
यसैगरी उडान गर्ने गन्तव्यको बिश्लेषण, विमान तथा उडान व्यवस्थापन आवश्यक भएको औल्याएको छ । यसैगरी अनलाइन टिकटको व्यवस्था, सम्पत्ति तथा दायित्वको मुल्यांकन, कार्यसम्पादन सम्झौता गर्नुपर्ने लगाएतका सुझाव रहेका छन ।
निगमसंग अहिले ३२० सेरिजका २ ओटा र ३३० सेरिजका २ गरी ४ ओटा एयरवसले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । उडान गन्तव्य नहुँदा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न सकेको छैन । निगमको ऋण २५ अर्ब रुपैयाँ भन्दा बढी छ ।