काठमाडौं । रेणुकुमारी यादव ९ महिनामै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट विदा भएकी छिन् । २०७८ असोज २२ गते जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट यादव भौतिक मन्त्री बनेकी थिइन् । जसपाले उनको ठाउँमा पूर्वसहरी विकासमन्त्री इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायातको जिम्मेवारी दिएको ।
असोजमा मन्त्री भएकी यादव माघ ५ गते आफ्नै अभिव्यक्तिको कारण सर्वत्र आलोचनाको पात्र बन्न पुगेकी थिइन् । बलिदानी दिवसको अवसरमा माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रममा हिंसा भड्काउने अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो ।
राजनीतिक व्यक्ति त्यसमा पनि बाहालवाला मन्त्रीले हिंसात्मक अभिव्यक्ति दिएपछि उनको राजीनामा मागसमेत भएको थियो । तर, मन्त्री यादवले राजीनामा दिइनन् । २०७९ असार २० गते जसपाले आफ्नो पार्टीका ३ जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै यादवले राजीनामा दिएकी हुन् ।
यादवले ९ महिने कार्यकालमा केही राम्रा काम पनि गरेकी छिन् । तर, उनको काम औसत मात्र देखिएको छ । २०७१ माघदेखि पूर्ण रूपमा बन्द रहेको रेल सेवा सञ्चालनमा ल्याएकी छन् ।
२०७८ फागुनबाट रेल सञ्चालनमा आएको हो । हाल जयनगर–बिजुलापुर– बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन भइरहेको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति भने भारतीय नै रहेका छन् ।
हालसम्म नेपालमा रेल सेवा अध्यादेशमार्फत् चलिरहेको छ । मन्त्री यादवको कार्यकालमा रेलवे प्रतिस्थापन विधेकको रुपमा पेस भएर राष्ट्रियसभाबाट पारित भएको छ । उक्त विधेक प्रतिनिधि सभामा टेवल भएपछि पारित भएमा विधेयकले कानुनी मान्यता पाउने छ । रेल विधेयकको कानुन निर्माणमा भने यादवले महत्वपूर्ण भूमिका खेलेकी छन् ।
रेल विभागको क्षेत्रमा स्मरणयोग्य काम गरेकी यादवको कार्यकालमा मन्त्रालयकै सबैभन्दा ठूलो सडक विभाग भने डेढ महिनासम्म महानिर्देशकविहिन भएको थियो । विभागका तत्कालिन महानिर्देशक शिवहरी सापकोटाले उमेरहदका कारण २०७९ वैशाख १९ गते अवकास पाएका थिए ।
आर्थिक वर्षको अन्तिम समयमा सडक विभाग महानिर्देशकविहिन हुँदासमेत मन्त्रालयको जिम्मेवारी सम्हाली रहेकी यादवले उचित कदम चाल्न सकेकी थिइनन् । जसको कारण भौतिक मन्त्रालयको सहित समग्र देशभरीको पुँजिगत खर्चको लक्ष्यमा असर परिरहेको छ ।
मन्त्री निकट स्रोतकै अनुसार आफु अनुकुलका सहसचिवलाई मात्रै विभागको जिम्मेवारी दिने योजनामा यादव थिइन् । जसको कारण महानिर्देशक नियुक्ति गर्न उनलाई ढिलाई भएको हो । यद्यपी यादवका स्वकीय सचिवालयका कर्मचारी भने स्थानीयतहको चुनावका कारण महानिर्देशक नियुक्तिमा ढिलाई भएको दाबी गर्छन् ।
२०७९ जेठ २५ गतेबाट भने सहसचिव एंव विभागका पूर्वमहानिर्देशक अर्जुनजंग थापाले विभागको नेतृत्व पाएका छन् ।
जसपा नेतृ यादवले आर्थिक वर्ष ०७९/०८० को बजेटमा संघिय सरकारको जिम्मेवारी भने घटाएकी छन् । प्रदेश सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेकी यादवले प्रदेशमा प्राविधिक जनशक्ति अभाव भएको विषयलाई भने ख्याल गरेकी छैनन् । जसका कारण अहिले आयोजना हस्तान्तरण हुने तर काममा प्रगति भने नहुने निश्चित जस्तै छ ।
प्रदेश सरकारलाई आयोजना हस्तान्तरण गरेसँगै सडक विभागले आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने सडकको लक्ष्यसमेत घटाएको छ । विभागले चालू आवमा १८ सय किलोमिटर लामो सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा असार पहिलो हप्तासम्म ६ सय किलोमिटर मात्रै कालोपत्रे गरेको छ ।
यद्यपी आगामी वार्ष कालोपत्रे गर्ने सडकको लक्ष्य घटाएर ८ सयमा सीमित गरेको विभागले जनाएको छ । १२ सय बढी आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्दा केन्द्र सरकारको लक्ष्य घटाइएको हो ।
तर, विगतका वर्षमा भन्दा चालू आवमा भौतिक मन्त्रालयको प्रगति कम हुने भएको छ । सडक विभागमा महानिर्देशक नहुनु मात्रै यसको कारण नभइ निर्माण व्यवसायीले गरेको कन्ट्रक्सन होलिडे अर्थात् निर्माण कार्य बन्देलेसमेत असर परेको हो । निर्माण व्यवसायीहरुले मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, बीमा, काम गरेको रकम भुक्तानीसहितका विभिन्न माग राखेर कन्ट्रक्सन होलिडे घोषणा गरेका छन् ।
तर, भौतिक मन्त्रालयले आफुले मात्रै व्यवसायीहरुको माग सम्बोधन गर्न नसक्ने जनाउँदै आएको छ । वैशाखदेखि सुरु भएको कन्ट्रक्सन होलिडे हालसम्म पनि हट्न सकेको छैन भने मन्त्री यादव पनि गैरजिम्मेवारीपन देखाउँदै मन्त्री पदबाट बाहिरिएकी छन् ।
त्यस्तै यातायातको क्षेत्रमा इम्बोस्ड नम्बर प्लेटको विवाद भने चलिरहेको छ । कमिसनको कारण विदेशी कम्पनीसँग मिलेर इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाइएको आरोप छ । तर, मन्त्री यादवले इम्बोस्ड नम्बर प्लेटको क्षेत्रमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
अर्को सकरात्मक पक्ष भने पानीजहाज सम्बन्धी कानुन परिमार्जन गर्ने प्रक्रिया भने जसमा नेतृ यादवले आफ्नो कार्यकालमा अगाडि बढाएकी छन् । यद्यपी पानीजहाजको कानुन २०२७ सालमा बनेको छ । त्यसलाई समयानुकुल परिवर्तन गर्ने मन्त्रालयको तयारी छ ।