काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सवारीको सिटक्षमता अनुसार कोटा तोक्न सुझाव दिएको छ ।
निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो। निगमले दुईपांग्रे र साना सवारीसाधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ ।
इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।
कोटा तोक्न सिफारिस गरेको आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुको ध्यानकर्षण गराएको छ ।
निगमले सोमबार प्रधानमन्त्री तथा आपूर्तिमन्त्रीलाई पत्राचार गर्दै निगमले थप आर्थिक स्रोतको जोहो नभएमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।
निगमका कार्यकारी उमेशप्रसाद थानीले लेखेको पत्रमा विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसकेमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्ने उल्लेख छ ।
मूल्यवृद्धि अनुसार समायोजन नहुँदा घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको स्पष्टपारेको छ ।
यो महिनासम्म निगमको नोक्सान ५५ अर्ब रुपैयाँ पुग्ने भएकाे छ । यस्तै भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब रुपैयाँ पुगेकाे कार्यकारी निर्देशक थानीले जानकारी गराएका छन् ।