काठमाडौं । साताको दोस्रोे कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ९.७५ अंकले घटेर २ हजार ७६ बिन्दुमा झरेको छ । जुन ०.४७ प्रतिशतको गिरावट हो ।
आज २ हजार ९५ बिन्दुमा खुलेको बजार उतार चढाप खेप्दै उच्च बिन्दु २१ सय ४८ विन्दुबाट पुनः झरेर २०७६ बिन्दुमा झरेर बन्द भएको छ ।
आज सामान्य अंकले घटेको बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । आजको कारोबार रकम ७७ दिनपछिको सबैभन्दा धेरै कारोबार हो ।
पछिल्लो एक महिनामा सबैभन्दा कम जेठ २१ गते ७१ करोड रुपैयाँको कारोबार भएको थियो भने आज असार २० गते आएर उच्च ४ अर्ब ३४ करोडको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढ्न सफल हुँदा २ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएकोे थियो । आज घटेको बजारमा कारोबार रकम भने उच्च भएको छ । बिक्रेता धेरै देखिँदा क्रेता पनि देखिएका छन् । जसले गर्दा कारोबार उच्च भई नेप्से सामान्य अंकले घटेको हो ।
क्रेता र बिक्रेता एक पक्ष धेरै देखिएको भए बजार बढ्दा उच्च अंकले बढ्न सक्ने र घट्दा उच्च अंकले घट्ने देखिन्थ्यो तर, बिक्रेता धेरै देखिएको बजारमा क्रेता पनि उच्च देखिदा बजार सामान्य अंकले घटेको छ । आजको सामान्य गिरावटले पछिल्लो कारोबार धेरै फरक पार्ने देखिँदैन् ।
आज नेप्सेमा २३४ कम्पनीको १ करोड ९८ लाख १ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिवाई नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेर कारोबार भएको छ ।
त्यस्तै ग्लोबल आईएमई बैंकको ऋणपत्रमा सर्वाधिक ९.७५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, युनियन हाइड्रोको ६.१८ प्रतिशत र ग्रिन लाइफ हाइड्रोपावरको ६.०४ प्रतिशतले सेयरमूल्यमा गिरावट आएको छ ।
आज नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक १७ करोड ५८ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।