काठमाडौं । राजधानीको थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बिजुलीबाट चल्ने तीनपांग्रे सवारीसाधन बनाएका छन् ।
परीक्षण नसकिए पनि १ युनिट बिजुलीबाट १०० किलोमिटर गुड्ने गरी मैचा निर्माण गरेको निर्माण कम्पनी सिरेटोले जनाएको छ ।
निर्माण सम्मन्न हुन लागेको ‘मैचा’ को परीक्षण भने नगरिएको सिरेटोले जनाएको छ । सिरेटोले बनाएको उक्त सवारीलाई ‘मैचा’ नामाकरण गरिएको छ । मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिकलगायत विभिन्न विधाका इन्जिनियरका विद्यार्थीले मैचा निर्माण गरेका हुन् ।
नेवारी संस्कृति झल्किने नाम र कलर
मैचा सामान्यतया नेवारी भाषामा प्रयोग हुने शब्द हो । त्यस्तै इन्जिनियरिङका विद्यार्थीले बनाएको मैचामा रातो र कालो रङकाे समिश्रण देख्न सकिन्छ । उक्त रङ पनि नेवार समुदायको पहिरन ‘हाकुपटासी’ सँग मिलाएर राखिएको निर्माण कम्पनीका इन्जिनियर सौगात पाण्डे बताउँछन् ।
‘नेपाली कल्चरलाई विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यले मैचा नाम र रातो कालो रङ मिलाएर राखेका हौं । यो हाम्रो पहिलो प्रतिस्पर्धा हो, अर्कोपटक अर्कै नाम राखेर चारपांग्रे सवारी बनाउने योजना छ’, पाण्डेले क्यापिटल नेपालसँग भने ।
सन् २०२० बाट बनाउन सुरु गरेको उक्त मैचा २ वर्षमा निर्माण भएको सिरेटोका टेक्निकल म्यानेजर रोहित पाटी बताउँछन् । उनका अनुसार मैचा निर्माण गर्दा आवश्यक पर्ने केही सामानहरु मात्रै विदेशबाट मगाइएको हो । म्यानेजर रोहितले भने, ‘नेपालकै सामान पनि प्रयोग भएको छ, केही मोटर्स र इलेक्ट्रोनिक्स सामानहरु बाहिरबाट पनि ल्याएका छौं ।’
प्रतिस्पर्धाका लागि बनाइएको मैचा
मैचा बनाउने योजना भने ‘सेल–इको म्याराथन’ नामक प्रतिस्पर्धाको लागि सुरु भएको हो । ‘सेल–इको म्याराथन’ विश्वव्यापी रूपमा हुने प्रतिस्पर्धा अर्थात् संसारभरका विद्यार्थीले सहभागी हुन पाउने म्याराथन हो ।
रोहित भन्छन्, ‘सुरुमा त हामीले विद्यार्थीलाई कसरी अगाडि बढाउने भनेर खोज्दै गएका थियौं । त्यही समयमा ‘सेल–इको म्याराथन’ का बारेमा थाहा पायौं र बुझ्दै जाँदा इलेक्ट्रिक भेहिकललाई प्रोत्साहन गरेको रहेछ । हामीलाई पनि रुचि बढ्दै गयाे अनि मैचा बनाउन सुरु गरेका हौं ।’
तीनपांग्रे गाडी मैचामा १ जना मात्र यात्रा गर्न मिल्ने रोहितको भनाइ छ ।
‘अहिले बनाएको मैचा तीनपांग्रे भए पनि १ जना मात्रै हिँड्न मिल्छ । किनकि प्रतिस्पर्धाका लागि बनाइएको ईभी हो । थोरै बिजुलीले धेरै यात्रा गर्न सक्ने ईभी निर्माण गर्ने हाम्रो योजना हो’, रोहितले भने, ‘अर्कोपटक हामीले चारपांग्रे कमर्सियल भेहिकल निर्माण गर्ने योजना बनाएका छौं । त्यसमा बढी मान्छे बस्न मिल्छ । तर, मैचाको प्रतिस्पर्था सम्पन्न नभई अर्को निर्माण सुरु हुँदैन ।’
सेप्टेम्बरमा प्रतिस्पर्धा हुँदै
‘सेल–इको म्याराथन’ को प्रतिस्पर्धा आगामी सेप्टेम्बरमा हुने भएको छ, जसमा सहभागिता जनाउन नेपालका इन्जिनियरले मैचा निर्माण गरिरहेका छन् । प्रतिस्पर्धाका लागि नेपालबाहिर जानुपर्नेछ । यद्यपि एसिया महादेशभित्रै उक्त प्रतिस्पर्धा हुने सिरेटो समूहले जनाएको छ ।
लागत साढे ४ लाख
मैचा निर्माण सम्पन्न हुँदासम्म साढे ४ लाख लागत लाग्ने अनुमान सिरेटोले गरेको छ । हालसम्म साढे ३ लाख रुपैयाँ लागिसकेको छ भने निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
प्रतिस्पर्धामा जाने समय अर्थात् सेप्टेम्बरसम्म सम्पूर्ण तयारी सकिने बताइएको छ । मैचा निर्माणमा इन्जिनियरिङका विद्यार्थीलाई ‘गोल्छा समूह’ र ‘न्यू ओटेरीक’ ले आर्थिक सहायता गरेका हुन् ।