नेपाल राष्ट्र बैंकले अत्यन्तै कठिन अवस्थामा मौद्रिक नीति बनाइरहेको छ । यसकारण कठिन अवस्था कि बैंकमा लगानीयोग्य रकमको चरम अभाव छ, नेपाल विदेशी वस्तु आयातको थलोका रूपमा परिणत हुँदै छ, स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्न सकेका छैनन्, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको मार नेपाल र नेपाली उपभोक्ताले भोगिरहेको अवस्थालाई सम्बोधन गर्ने गरी केन्द्रीय बैंकलाई मौद्रिक नीति बनाउनुपर्ने दबाब छ ।
मौद्रिक नीतिमार्फत तरलता अभाव अन्त्य हुन्छ, आर्थिक वृद्धिको लक्ष्य पूरा हुन्छ, बैंकको ब्याज स्थिर हुन्छ भन्ने धेरैको आशालाई जीवित राख्नुपर्ने छ । अहिले सतहमा दुई थरी स्वदेशी उद्योगको प्रोत्साहन र निर्यातमूलक उद्योगलाई सहुलियत दिनुपर्ने बहस छ । सरकारले बजेटमार्फत दुवै खाले उद्योगलाई बढावा दिन खोजेको छ । मौद्रिक नीतिले त्यसलाई सहयोग गर्नुपर्ने छ । नेपालमा उत्पादनमूलकका साथै सेवामूलक उद्योगको प्रचुर सम्भावना छ । अझै भन्ने हो भने सेवामूलक उद्योगको सम्भावना बढी देखिन्छ ।
हामी कुन–कुन वस्तुमा आत्मनिर्भर हुन सक्छौं ? त्यस्ता वस्तुको उत्पादनमा मौद्रिक नीतिले काम गर्नुपर्छ । त्यसका लागि बैंकको ब्याजमा सहुलियत दिनुका साथै सहज र उच्च प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्छ । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराई उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ ।
अहिले देशको अधिकांश स्रोत उपभोगमा गइरहेको छ । उपभोगमा हुने खर्चलाई कसरी घटाउने भन्ने तिर पनि केन्द्रीय बैंकको जोड हुनुपर्छ । उपभोग घटाउने र उत्पादनशील क्षेत्रतर्फ आकर्षित हुने खालको नीति लिनुपर्छ । त्यसले एकातिर विदेशी मुद्राको सञ्चिति बढाउन सकिन्छ भने अर्कोतिर देशभित्रै पैसा रहने वातावरण पनि बन्छ ।
केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रको ऋणमा बढी ध्यान दिनुपर्छ । अहिले नाम मात्रैको कृषि भइरहेको छ र ठूलो रकम ऋणका रूपमा गइरहेको छ । तर, परिणाम आएको छैन । अहिलेको नीतिलाई केही फेरबदल गरेर नयाँ तरिकाबाट जान सक्नुपर्छ । नेपालको अर्थतन्त्रलाई योगदानसँग जोडेर हेरिनुपर्छ ।
केन्द्रीय बैंकले ऊर्जा क्षेत्रमा अनिवार्य लगानीको व्यवस्था गरेपछि ऊर्जा क्षेत्रमा कायापलट भएको छ । जलविद्युत् क्षेत्रमा जसरी परिवर्तन देखिएको छ, त्यस्तो परिवर्तन कृषिमा किन देख्न पाइएन । घरेलु तथा साना उद्योगमा पनि अनिवार्य लगानीको व्यवस्था भएको छ तर, त्यसको सही सदुपयोग भएको छ त ?
रसिया–युक्रेन युद्धले नेपालमा पनि महँगी बढ्दै गएको छ । महँगीलाई नियन्त्रण गर्ने खालको ब्याजदर कायम गर्नुपर्छ । नत्र बचत गर्ने बानी नै हराएर जान्छ । साह्रै सस्तो ब्याजदर हुँदा पनि कम पुँजी निर्माण हुने सम्भावना रहन्छ । पुँजी पलायनको जोखिम बढ्छ ।
बढी ऋण लिएर काम गरेका व्यक्तिहरुले पनि कम ऋण लिएर काम गर्नुपर्छ । केन्द्रीय बैंकले फरक–फरक प्रकृतिका उद्योगका फरक किसिमको कार्यशील पुँजी नीति ल्याउनुपर्छ ।
कार्यशील पुँजीका हकमा एउटै प्रावधान हुनुहुँदैन । केन्द्रीय बैंकले सेयर कर्जाको जोखिम भार बढाएर १५० प्रतिशतसम्म पुर्याएको छ । त्यसलाई निरन्तरता दिए पनि सेयर धितो कर्जालाई केही सहज बनाउनुपर्छ । वास्तविक क्षेत्र वृद्धि हुँदा अर्थतन्त्रमा केही न केही योगदान गर्छ ।
(पाण्डे सिभिल बैंकका अध्यक्ष तथा कैलाश हेलिकप्टरका सञ्चालक हुन्)