कास्की । अन्नपूर्ण गाउँपालिकाले पर्यटन पदमार्गलाई प्राथमिकता दिएर पूर्वाधार विकासमा जोड दिएको छ । विश्वको उत्कृष्ट १० पदमार्गमध्ये पाँचौमा पर्ने ‘अन्नपूर्ण सर्किट’का पदमार्गहरु पक्की सडकले विस्थापित भइरहेको अवस्थामा त्यसको संरक्षण र विकासका लागि गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
“पोखरा पर्यटनको राजधानी हो र पोखराको पनि पर्यटनको राजधानी अन्नपूर्ण गाउँपालिका हो, पोखरा आउने पर्यटकको रोजाइ अन्नपूर्ण आधार शिविर हो”, उनले भने, “नेपाल आउने अधिकांश पर्यटक पदयात्रा गर्नकै लागि आउँछन् । अहिले पदमार्गहरु लोप भइरहेका छन्, यसको संरक्षण र स्तरउन्नतीका लागि गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ।”
घान्द्रुक, टाढापानी, मुलडे, दोबाटो, हुँदै ‘हिडन’लेक त्यसैगरी बीरेठाँटी ठामाको डाँडा उल्लेरी बराहाताल हुँदै मरेलेक, तालचियाउनी गह्रा हुँदै मर्दीको डाँडा, काँडे अष्ट्रेलियन क्याम्प हुँदै प्रितम देउराली, नाउँडाडा भ्यू टावर हुँदै भूमे डाँडा, लान्द्रुक हुँदै मर्दी हिमालमा पदमार्गा शुरु भएको अध्यक्ष कुँवरले जानकारी दिए । उनले ३० करोड रकम बराबरको पर्यटन पदमार्गको काम भइरहेको बताए ।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पर्यावरणीय वातावरणलाई समेत जोड दिएर प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्ने नीतिलाई समेत अवलम्बन गरेको छ । अन्नपूर्ण क्षेत्रमा विशेष राहत, उद्धार एवं विपद्को अवस्थामा बाहेक हवाई उडान (हेलिकोप्टर) बन्द गरी ध्वनी प्रदूषण रोक्ने नीति गाउँपालिका लिएको छ ।
ट्रेकिङ एजेन्सी एशोसियन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल पदमार्गबाट यात्रा गर्ने पर्यटकले नेपालको रहनसहन संस्कृतिको चिनारी बोकेर लाने भएकाले पदमार्ग पर्यटनको महत्व निकै रहेको बताए । गाउँपालिकाले पर्यटन पदमार्गको विकास र संरक्षणमा देखाएको चासो निकै सकारात्मक भएको उनको भनाइ छ । अध्यक्ष भुजेलले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलगायत पदमार्गहरु छोटिदै पक्की सडकमा परिणत भएको भन्दै यसको संरक्षण आवश्यक भएको बताए ।
गाउँपालिकाको ५८ करोड ४५ लाख बजेट छ । वार्षिक २० करोड त तलब भत्तामा मात्रै खर्च हुने जनाइएको छ । अन्य रकम मानवविकास र भौतिक पूर्वाधारका लागि छुट््टाइएको छ । ४२३ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण गाउँपालिकामा २०६८ को जनगणनाअनुसार २३ हजार ४ सय जनसङ्ख्या रहेको छ । ६ हजार २९ घरधुरी रहेका छन् ।
स्थानीयको जीवनस्तर उकास्न तत्काल पर्यटन विकासमा जोड दिएर आर्थिक चलायमान गराउने योजना अनुरुप गाउँपालिकाले अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लान्द्रुक, उल्लेरी, ठामको डाँडा, नाउँडाडा भ्यूटावर, ताल चियाउनी गह्रो, बीरेठाँटी छहरा, जस्ता पर्यटकीयस्थलको विकासलाई जोड दिएको गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताइन् । अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो व्यक्ति मौरिस हर्जोकको शालिककलाई अन्नपूर्ण आधार शिविरमा राखेर पर्यटन प्रवद्र्धनका लागि पहल गरिएको उनको भनाइ छ ।
कृषिमा पनि जोड
पर्यटनसँगै कृषिलाई पनि गाउँपालिकाले प्राथमिकतमा राखेको छ । विनियोजित रकममध्ये १ करोड १५ लाख रुपैयाँ कृषिलाई छुट्याइएको छ । कृषिका लागि १०० बढी हाते ट्याक्टर वितरण गरी कृषिलाई आधुनिकिकरण गरिएको छ । १ लाख ६५ हजार बढी विभिन्न फलफूलहरु एभोगाडो, सुन्तला, अम्बा, कागती, अलैँचीका विरुवा वितरण गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।
“यो वर्ष हामीले करीब ३० हजार कागतीको बेर्ना उत्पादन गरेका छौँ, एउटा कागतीको बेर्ना हुकाउन सके लैनो भैँसी बराबरको फाइदा हुने रहेछ”, उनले भने, “कोदो महोत्सव गरेर कोदोको परिकारको महत्व र फाइदाको बारेमा समेत जोड दिएका छौँ, अब गाउँपालिका कोदोमा पनि आत्मनिर्भर बन्दैछ ।”