यो आधुनिक जमानामा के पाइँदैन होला ?
तपाईंसँग पैसा छ भने लगभग सबै कुरा किन्न सक्नुहुन्छ । यहाँसम्म कि आमाको दूध पनि ।
भारतमा एसियाको एकमात्र यस्तो कम्पनी छ, जसले आमाको दूध बेच्छ ।
उक्त कम्पनी हो, बैंगलोर बेस्ड कम्पनी नियोलेक्टा लाइफसाइन्सेज प्रालि ।
थुप्रै अभियन्ताहरुले आमाको दूधको व्यापारमा आपत्ति जनाएपछि भारतीय खाद्य सुरक्षा मानक प्राधिकरण (एफएसएसएआई) ले कम्पनीको लाइसेन्स रद्द गरिदिएको छ ।
एफएसएसएआईका अनुसार नियमानुसार आमाको दूधको बिक्री गर्ने अनुमति छैन । यद्यपि निरीक्षणपश्चात् प्राधिकरणलाई थाहा भयो कि कम्पनीले सन् २०२१ मा आफ्नो उत्पादन नारीक्षीरा (आमाको दूध) बेच्न लाइन्सेन्स लिएको थियो । र, व्यापार गर्दै आइरहेको थियो ।
नियोलेक्टाको स्थापना २०१६ मा भएको हो । कम्पनीले मूलरुपमा डेरी उत्पादको श्रेणीमा एफएसएसएआईको कर्नाटकबाट लाइसेन्स प्रापत गरेको थियो । ब्रेस्टफिडिङ प्रमोसन नेटवर्क अफ इन्डियाका अनुसार यो पूरै झट्का दिने खबर हो ।
यसरी एउटा कुनै कम्पनीलाई किशोरी–आमाबाट दूध एकत्रित गरी त्यसलाई डेरी उत्पादनझैं बेच्ने अनुमति दिइएको छ ।
भारतमा ८० प्रतिशतभन्दा बढी ह्युमन मिल्क बैंक
दान गरिएको आमाको दूध प्रायः प्रि–मेच्योर या बिरामी बच्चालाई पिलाउन गरिन्छ । विभिन्न कारणले आमाहरु आफ्ना बच्चालाई दूध पिलाउन असमर्थ हुँदा यो दूध प्रयोगमा आउँछ । खासगरी दूध गैरनाफामूलक दूध बैंकबाट प्राप्त हुन्छ । डोनर्स (स्तनपान गराउने आमाहरु) बाट एकत्रित गरिएको दूधलाई पास्चराइज्ड गरिन्छ र त्यसपछि पोषकतत्व नापिन्छ । अनि यसलाई कम तापमानमा सुरक्षित राखिन्छ ।
अधिकांश मिल्क बैंक सरकारी अस्पतालसँग जोडिएका बैंकमा प्राप्त हुने दूध आवश्यकता हुनेलाई दिइन्छ । तर, जसले किन्न सक्छ, उनीहरुलाई बिक्री गरिन्छ ।
भारतमा यस्ता गैरनाफामूलक मानव दूध बैंक ८० भन्दा बढी छन् ।
कति पर्छ ?
नियोलेक्टा ३०० मिलिलिटर फ्रोजन ब्रेस्ट मिल्कको ४ हजार ५ सय भारु पर्छ । एउटा प्रि–टर्म बच्चलाई प्रतिदिन ३० मिलिलिटर दूधको आवश्यकता पर्छ । यस्तै स्वस्थ बच्चालाई प्रतिदिन १५० मिलिलिटर ।
यो कम्पनीले मानव दूधको पाउडरसमेत बेच्छ ।
के भन्दैछन् मानिसहरू ?
नेसनल नियोनेटोलोजी फर्म (एनएनएफ) का अध्यक्ष डा. सिद्धार्थ रामजी भन्छन्, ‘सैद्धान्तिक रुपमा आमाको दूधको व्यावसायीकरणलाई स्वीकार गर्दैनौं । यद्यपि एनएनएफ नियामक निकाय भने होइन ।’
‘आमाको दूधको व्यापार लज्जास्पद कुरा हो’, ह्युमन मिल्क बैंकिङ एसोसिएसन अफ इन्डियाका संयोजक डा. सतिश तिवारीले भने ।