काठमाडौं । चारतारे स्तरको ठमेल प्लाजा होटल एन्ड स्विट्स प्राइभेट लिमिटेड सञ्चालनमा आएको एक वर्ष भयो । यस अवधिमा होटल ९ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको छ । उच्च सञ्चालन लागत र ह्रासकट्टीले गर्दा होटल सञ्चित नोक्सानमा गएको हो ।
कोरोना महामारीको असर सकिएको र पर्यटकको चहलपहल बढेकाले आगामी वर्ष होटलले व्यापारमा रिबाउन्स गर्ने देखिएको छ । होटलले सञ्चालनमा आएको ६ महिनामै २ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
होटल डालिया इन्भेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लगानीमा रमदा इन्कोर बाई वाइनहेम काठमाडौंको व्यवस्थापनमा सन् २०२१ को जनवरीदेखि सञ्चालनमा आएको हो । जुन अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो ।
उक्त चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाले गर्दा एक वर्ष ढिला गरी सञ्चालनमा आएको थियो । होटलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस लिमिटेडले केयर एनपी ए फोर रेटिङ दिएको छ ।
आतिथ्य क्षेत्रमा तीव्र प्रतिस्पर्धा र भौगोलिक एकाग्रता र अस्थिर ब्याजदरको जोखिम होटललाई छ । ब्रान्डले कम्पनीलाई मार्केटिङ र होटल सञ्चालनका हिसाबले फाइदा पुर्याउने सम्भावना छ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा रहेको होटलमा १ अर्ब ३९ करोड ३० लाख रुपैयाँ लगानी भएको छ ।
सन् २०१२ मा स्थापना भएको हो । होटल राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा छ । ११७० वर्गमिटरमा फैलिएको होटलमा ९० वटा कोठा रहेका छन् । होटल सन् २०२१ जनवरीदेखि रामदा इन्कोर काठमाडौंको नाममा सञ्चालनमा हो । होटल विश्वमा ९ हजार २०० भन्दा बढी रहेका छन । रमदा इन्कोरको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा बढी चेन होटल छन ।
विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेकाले यसबाट होटलले लाभ लिन सक्ने देखिएको छ ।
नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौँ उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।