काठमाडौं । मध्यपूर्वको ३० वर्षमुनिका शीर्ष ३० सेफमा नेपालका युवा राहुल श्रेष्ठ छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० सेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् ।
उनी हाल ब्यागेटेल दुबईमा सु सेफका रूपमा कार्यरत छन् । उनले ब्यागेटेलको परम्परा, स्वाद र इतिहासलाई पनि सम्मान गर्दै नयाँ प्रचलनहरूसहित सन्तुलित मेनु बनाउन मद्दत गर्छन् ।
क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ सेफहरूदेखि रेस्टुराँहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी सेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्छ । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्छ ।
हरेक वर्ष मध्यपूर्वको शीर्ष सेफ छनाेट गर्ने क्रममा यो वर्ष नेपाली युवा श्रेष्ठ छनाेट भएका हुन् । २८ वर्षीय श्रेष्ठ नेपालका प्रतिष्ठित व्यावसायिक घरनाका व्यक्ति हुन् । तर, उनले आफ्नो पारिवारिक बिजनेसलाई त्यागेर सेफमा रमाइरहेका छन् ।
श्रेष्ठको पारिवारिक बिजनेस भने चितवन कोइ प्राइभेट लिमिटेड हो । यो कम्पनी नेपालको प्रतिष्ठितभित्र पर्छ । मनकामना केवलकार, चितवन मिल्क, माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत आयोजना र होटलमासमेत लगानी विस्तार गरेको सो व्यावसायिक घरनाका श्रेष्ठ भने सेफका रूपमा परिचय बदलिरहेका छन् । उनी चितवन कोई समूहका अध्यक्ष स्व.लक्ष्मणबाबु श्रेष्ठका नाति एवं राजेशबाबु श्रेष्ठका छोरा हुन् । तर, उनले आफ्नो पुस्तनी बिजनेसलाई थाती राखेर सेफ बन्नका लागि लामो समयदेखि लागिपरेका छन् ।
‘बिजनेस म्यानेजमेन्ट अध्ययनका लागि बेलायतमा पठाएको बेलादेखिनै उसलाई सेफ प्रतिको आकर्षण बढेको हो, उनका बुबा राजेशले भने, उसको इच्छा र हाम्रो सल्लाहामै उसलाई यो क्षेत्रमा क्रियाशील बनाएका हौं, जहाँ उ सफल भइरहेको छ’ ।
बेलायतमा रहँदा सेफ बन्ने मुड चलेपछि त्यही किसिमको अध्ययनमा लागेपछि राहुलले नेपालमा फर्किर आफू पारिवारिक बिजनेसमै नयाँ भेराइटी थप्ने प्रयत्नमा लागेको जानकारी गराएका थिए । उनको प्रस्ताव हजुरबुबा लक्ष्मण श्रेष्ठसहित परिवारका सबैले स्वीकार गरेपछि पठाएको जानकारी दिए ।
लक्ष्य सफल सेफ बनेर नेपालमै फाइनडाइनको आउटलेट खोल्ने र पारिवारिक बिजनेसको नयाँ हिस्सा बनाउने योजना उनको रहेको बुबा राजेशले सुनाए । ‘छोराको यो सफलतामा हाम्रो परिवार निकै खुसी भएका छौं, राजेशले भने, पारिवारिक बिजनेसभन्दा छोराछोरीको जे इच्छा छ त्यसैमा रमाउन दिए सफल भइन्छ भन्ने पुष्टि भएको छ’ ।
राहुल यसअघि पनि युरोपको ५ सय जनाभित्रमा राहुल छानिएका थिए । राहुलले सिंगापुर, दुबई र बेलायतमा काम गरिसकेका छन् ।