काठमाडौं । प्रिमियममार्फत प्राथमिक सेयर ‘आईपीओ’ निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापकमार्फत थप पुँजी जुटाउन लागेको हो । इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीबाट १ बराबर १ अनुपातमा पुँजी जुटाउने जनाएको छ ।
बिमा समितिले जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवन कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएसँगै बिमा कम्पनी पुँजी जुटाउने हत्तारोमा छन् । पुँजी जुटाउन नसक्ने कम्पनीहरु भने पाटर्नर खोजेर मर्जमा जान थालेका छन् । बिमा कम्पनीहरुले चैत मसान्तसम्म बिमा समितिले तोकेको पुँजी पुर्याउनु पर्नेछ । पुँजी पुर्याउन नसक्ने कम्पनीलाई हेभि पेनाल्टी कायम हुने बिमा समितिले जनाएको छ ।
यतिबेला पुँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जमा जाने चटारो र मर्जमा नजाने कम्पनीलाई पुँजी वृद्धिको हत्तासो देखिएको छ । चुक्ता पुँजी बढाउन नसक्ने आधा दर्जन कम्पनी पाटर्नर खोजेर मर्जका लागि सहमति गरेका छन् भने आधा दर्जन कम्पनी सहमतिको नजिक पुगेका छन् ।
त्यस्तै आईपीओ निष्कासन गर्न बाँकी रहेका ५ जीवन बिमा कम्पनीमध्येका तीन कम्पनीले मर्जमा नजाने निर्णय गरी थप पुँजी वृद्धिमा जुटेका छन् । रिलायबल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ मर्जमा नजाने निर्णय गरी थप पुँजी जुटाउन थालेका छन् ।
यी तीनवटै कम्पनीले संस्थापकलाई पुँजी थप्न लगायर पुँजी बढाउने भएका हुन् । रिलायबल इन्स्योरेन्सको गत जेठ २५ गते बसेको कम्पनीको साधारणसभामा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । त्यस्तै, कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत अनुमोदन गरेको थियो ।
संस्थापक सेयरधनीहरुबाट थप लगानी रकम माग गरी पुँजी वृद्धि गर्न इन्स्योरेन्सले बिमा समितिबाट अनुमतिसमेत पाइसकेको कम्पनीले जनाएको छ । आईपीओ निष्कासन नगरेका बिमा कम्पनीहरुले साढे ३ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेे बिमा समितिले जनाएको छ । यता रिलायबल नेपालले भने आईपीओ निष्कासनको स्वीकृतीका लागि बोर्डमा आवेदन दिएको छ ।
चैत मसान्तसम्म कम्पनीले आईपीओ निष्कासन नगरेको खण्डमा साढे ३ अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । यदि चैत अगाडि नै आईपीओ निष्कासन गरेको खण्डमा भने पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तसर्थ हाल रिलायबलको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले संस्थापकमार्फत १ः१ अनुपातमा पुँजी जुटाउँदा कम्पनीको पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
अझै कम्पनीलाई पुँजी पुर्याउन ७० करोड पुँजी कम पर्ने देखिन्छ । यदि कम्पनीले आईपीओ निष्कासन गरेको खण्डमा भने ५ अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर आईपीओ निष्कासन गर्न नेपाल धितोेपत्र बोर्डमा आवेदनसमेत दिएको छ ।
कम्पनीले अंकित मूल्यमा ११२ रुपैयाँ थपेर २१२ रुपैयाँ प्रतिकित्ताको दरले ६० लाख कित्ता आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले चालू आर्थिक वर्षमै आईपीओ निष्कासन गरेपछि बाँकी अपुग पुँजीको हकप्रद निष्कासन गरी उठाउने जनाएको छ ।