एजेन्सी । भारत सरकारले पेट्रोलियम एवं हवाई इन्धनको निर्यातमा कर लगाउने भएको छ । पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा १३ रुपैयाँ (भारु) कर लगाउने भएको हो ।
भारत सरकारले शुक्रबार निर्यात कर लगाउने घोषणा गरेको छ । नेपाललगायत बंगलादेश, भुटान र श्रीलंकामा भारतले तेल निर्यात गदै आएको छ । यसरी भारतले पेट्रोलियम पर्दाथमा निर्यात कर लगाउँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने संभावना छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको मारमा परेका नेपाली भारतको निर्यात करको थप मारमा पर्ने संभावना छ । यद्यपी नेपाल आयल निगम लिमिटेडले थप कर लाग्ने वा नलाग्ने विषयमा खुलाएको छैन ।
नेपाल तेलमा भारतसँग निर्भर छ । यद्यपि नेपालले कोटामा ल्याउने पेट्रोलियम पदार्थमा सो निर्यात कर लाग्ने, नलाग्ने विषय भने खुलाइएको छैन । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन(आईओसी) लिमिटेडबाट तेल किन्दै आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले अन्तर्राष्ट्रिय स्तरमा तेलको बढ्दो मूल्यबाट उत्पादकलाई हुने अप्रत्याशित लाभको रुपमा घरेलु स्तरमा उत्पादित कच्चा तेलमा प्रतिटन २३ हजार २३० रुपैयाँ भारु अतिरिक्त कर लगाएको छ ।
निर्यातमा कर तेल रिफाइनरी विशेषगरी निजी क्षेत्रका लागि हो, जसले युरोप–अमेरिकाजस्ता बजारमा इन्धन निर्यात गर्दा खास लाभ लिन्छन् ।
यस्तै घरेलु रुपमा उत्पादित कच्चा तेलको उत्पादनमा लगाएको कर स्थानीय उत्पादकका लागि हो, जसले अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलेको बढ्दो मूल्यबाट अप्रत्याशित लाभ लिइरहेका छन् ।