काठमाडौं । सरकार वर्तमान अर्थतन्त्र सुधार्न पूर्ण रुपमा असफल भएको नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले निश्कर्ष निकालेको छ ।
देशमा लगानी योग्य रकमको चरम अभाव भएको एक वर्ष पुग्न लागिसक्यो । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दो क्रममा छ । आयात रोक्दा व्यवसायी टाट पल्टिन लाग्दा समेत सरकार गम्भीर नभएको विभागका प्रमुख तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगडको भनाइ छ ।
राजधानीमा आयोजित कार्यक्रममा दुगडले देशमा व्यवसाय गर्ने वातावरणसमेत शेरबहादुर देउवाको सरकारले विगारेको बताए । ‘अहिले हरेक क्षेत्रका व्यवसायी सरकारसँग असन्तुष्ट छन्,’ उनले भने, ‘बजेट ल्याउने वित्तिकै यसरी सडकमै ओर्लिएर व्यवसायीले आन्दोलन गरेको इतिहासमा पहिलो पटक हो । यसैबाट बुझिन्छ सरकार बिचौलियाबाट मात्र चल्न ।’
नीतिगत सुधार गरेर अर्थतन्त्रलाई श्रीलंका हुनबाट जोगाउन सरकारले कुनै प्रयास गरेको विभागको निश्कर्ष छ । देशको अहिलेको आर्थिक संकटप्रति सरकार गम्भीर नभएको विभागको निश्कर्ष छ । आर्थिक संकट निवारण गर्न राज्यका निकायहरुले प्रभावकारी भूमिका नखेलेको दुगडको भनाइ छ ।
अहिलको समस्या समाधान गरेर अर्थतन्त्रलाई सही दिशामा ल्याउन विभागले माग गरेको छ । मुलुकको आर्थिक संकट आर्थिक अराजकता र आर्थिक असुरक्षित अवस्था कारण तमाम उद्योगी व्यवसायी पीडित हुनु परेको विभागको निश्कर्ष छ । यस्तो पीडाको बेला राज्यले उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको उनको भनाइ छ ।
सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बार्षिक बजेटप्रति व्यवसायी पूर्णरुपमा असन्तुष्ट भएको र उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम ल्याउन नसकेको उनको तर्क छ । बजेटले उद्योगी व्यवसायीलाई निराश दुगडले बताए ।