काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक उच्च अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ७४.९३ अंकले बढेर २ हजार बिन्दुमाथि उक्लिएको हो ।
आज १९ सय ६६ बिन्दुमा खुलेको बजार निरन्तर उकालो लाग्दै २ हजार ३७.६४ बिन्दुमा पुगेर बन्द भएको छ ।
बढेको बजारमा २ अर्ब ४५ करोड रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबारको कारोबार रकम ५९ दिनपछिको सबैभन्दा धेरै हो । पछिल्लो करिब दुई महिनामा सबैभन्दा कम जेठ २१ गते ७१ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार असार १६ गते आएर उच्च २ अर्ब ४५ करोडको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढ्दा १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोे थियो ।
पछिल्लो दुई दिन बुधबार र आज (बिहीबार) बजार १०४ अंकले बढेको छ ।
मौद्रिक नीतिअघि बजारलाई २२ माथि पुर्याउन केही समूह लागि परेको सेयर विश्लेषकहरु बताउँछन् । पछिल्लो दुई दिनमा १०४ अंकले बढेको बजार २२ बिन्दु छुन अझै १६३ अंकले बढ्नुपर्नेछ । बजारमा देखिएको डिमान्ड र सप्लाई अनुपात बराबर देखिँदा बजार माथि जाने वा तल जाने भन्ने कुरा यसै आँकलन गरिहाल्न सकिँदैन ।
बिहीबार नेप्सेमा २२८ कम्पनीको ७२ लाख ५४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
त्यस्तै गुँरास लघुवित्त, वरुण हाइड्रोपावरसहित ६ कम्पनीको सेयमूल्यमा सामान्य गिरावट आएको छ ।
यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ९ करोड ९५ लाखको कारोबार भएको छ ।