लुम्बिनी । किसानले धान रोप्ने समयमा पर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
गत वर्ष यस अवधिमा प्रदेशभरिमा झण्डै ४६ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा तीन लाख २० हजार २७५।४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । रोपाइँ हुने जमिनको कुल क्षेत्रफलमध्ये यस वर्ष आजसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए ।
प्रदेशका १२ जिल्लामध्ये रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै पश्चिम नवलपरासी जिल्लामा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत मात्र भएको छ । पश्चिम नवलपरासीमा २१ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्छ । यसमध्ये हालसम्म १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । यस्तै बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा हुने गर्छ । यहाँ यस वर्ष हालसम्म चार हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानखेती हुने कपिलवस्तु हो । यस जिल्लामा कुल ७१ हजार २०० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यस जिल्लामा अहिले सम्ममा जम्मा १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए । प्रदेशको दोस्रो धेरै धानखेती हुने जिल्ला रुपन्देहीमा भने हालसम्म ४१ प्रतिशत रोपाइँ सकिएको छ ।
यता लुम्बिनी प्रदेशमा सबैभन्दा कम रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाइँ सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत सकिएको छ । रुकुमपूर्वमा एक हजार ४१९.४२ हेक्टरमध्ये ९२२.६२ हेक्टर क्षेत्रफमा रोपाइँ सकिँदा रोल्पामा चार हजार ३४० हेक्टरमध्ये दुई हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा सकिएको छ ।
यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य दाङ र बर्दिया जिल्लामध्ये दाङमा कुल धान रोपाइ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर अर्थात् ३१.५० प्रतिशत क्षेत्रफलमा र बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टर अर्थात् ३४.७८ प्रतिशतमा रोपाइँ सकिएको छ ।
यता प्रदेशका पहाडी जिल्ला अर्घाखाँचीमा धानखेती हुने कुल ८ हजार ५० हेक्टरमध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको गौतमले जानकारी दिए ।
यस्तै गुल्मीमा कुल धानखेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८५.७२ हेक्टर अर्थात् २७ प्रतिशतमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टरमध्ये दुई हजार ६९७.१० हेक्टर क्षेत्रफल अर्थात् ३५ प्रतिशत रोपाइँ सकिएको छ ।
यता प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टरमध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा सकिएको छ ।
लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा रोपाइँका लागि प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले यस वर्ष पानी पर्न केही ढिला हुँदा ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए ।
यस प्रदेशमा करिब ५० प्रतिशत जमिनमा आकासे पानीको भर पर्नुपर्ने अवस्था रहेको बताउँदै दुई दिनदेखि लगातार पानी परेकाले असार भरिमा प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने जानकारी दिए ।
रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यसवर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ ।