काठमाडौं । तीन प्रतिष्ठित व्यवसायीहरु मिलेर कृषिमा लगानी विस्तार गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले संयुक्त रुपमा मकवानपुरको चित्लाङमा कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।
सिमेन्ट, डन्डी, मोटरसाइकलको एसेम्बल उद्योग सञ्चालन र ऊर्जामा लगानी गर्दै आएका व्यवसायीहरुले पहिलो चरणमा मकवानपुरको चित्लाङमा ७० रोपनी जग्गा भाडामा लिएर अग्र्यानिक तरकारीहरु उत्पादन थालेका छन् ।
सनफार्मर एग्रो कम्पनी स्थापना गरेर अग्र्यानिक तरकारी उत्पादन सुरु गरिएको छ । फार्मबाट विभिन्न किसिमका तरकारी उत्पादन सुरु भइसकेको एग्रोका सञ्चालक ज्ञानेन्द्रलाल प्रधानले बताउँछन् ।
लगानी थोरै भए पनि कृषिमा केही गर्नका लागि संयुक्त रुपमा अग्र्यानिक एग्रोफार्म सञ्चालनमा ल्याएको प्रधानको भनाइ छ । पैसा कमाउने भन्दा पनि कृषिमा नयाँ मोडेल ल्याएर केही गर्ने उद्देश्यका साथ सनफार्मर एग्रो सञ्चालनमा ल्याएको प्रधानले बताए ।
४ वर्षअघि नै फार्मको सञ्चालन तयारी भए पनि कोभिड महामारीले ढिला सुरु भएको हो । फार्मबाट उत्पादन भएको अग्र्यानिक तरकारी बजारमा आइसकेको छ । फार्मबाट हाइजनिक तरकारी खुवाउने योजना रहेको उनको भनाइ छ ।
सनफार्मरबाट काँक्रो, भेडेखुर्सानी, टमाटर, काउली, बन्दाकोभी उत्पादन सुरु भएको छ ।
कालिमाटी बजार, भाटभटेनीलगायत अन्य बजारलाई किसानसँग सीधै लिंक गराउने योजना सन फार्मरको छ । अहिले बिचौलियाको राजगजका कारण किसानले कृषिजन्य उत्पादनको मूल्य नपाउने गरेको गुनासो आएको बताउँदै प्रधानले भने, ‘हाम्रो व्यवसाय बिचौलियामुक्त हुनेछ । बिचौलियाले लिने पैसा सीधै किसानको हातमा पुर्याउने लक्ष्य छ ।’
किसानी गर्दा किसानले फाइदा पाऊन् भन्ने मोडल विकास गर्न लागेको उनले सुनाए ।
यस्तै प्रधानको एकल लगानीमा नवलपुरको गैंडाकोटमा फलफूल उत्पादन फार्म स्थापना भएको छ । फार्ममा ४०० भन्दा बढी एभोकाडोका विरुवासहित सोही मात्रामा आँप र लिचीका विरुवा लगाएको उनले जानकारी दिए । गैंडाकोटको फार्मबाट फलफूल मात्र उत्पादनमा गर्ने प्रधानको भनाइ छ ।
नुवाकोटको छहरेमा १ हजार रोपनी जग्गामा एग्रोफार्म
लगानी विस्तार गर्ने योजनामा रहेका प्रधानले नुवाकोटको शिवपुरी गाउँपालिकाको छहरेमा ठूलो लगानीमा एग्रोफार्म स्थापनाको तयारी गर्न लागेका छन् । त्यसका लागि उनले सो क्षेत्रमा १ हजार रोपनी जग्गा खरिद गर्न लागेको बताए ।
१ हजार रोपनी जमिनमा अग्र्यानिक तरकारीका अतिरिक्त फलपूmल उत्पादन गरेर राजधानीमा आपूर्ति गर्ने योजना रहेको उनले सुनाए । कृषि फार्मका लागि जग्गाको खोजी भइरहको छ ।
स्थानीय मलको बढी र रासायनिक मलको ज्यादै कम प्रयोग गर्ने लक्ष्य उनको छ । यो फार्मले पनि बिचौलियामार्फत नभई सीधै किसानम्म पैसा पुर्याउने योजना राखेको छ ।
कृषि उत्पादन पनि आयातमै निर्भर हुन थालेपछि पछिल्लो समय ठूला उद्योगपतिहरु पनि कृषि कर्ममा लगानी गर्न थालेका हुन् । गोल्यानलगायत ठूला व्यवसायिक प्रतिष्ठानहरु अहिले कृषिमा लागेका छन् ।