काठमाडौं । आईएमई ग्रुपले पोखराको लेकसाइडमा सञ्चालित ‘द लेकसाइड रिट्रिट’ खरिद गरेको छ ।
हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी बढाइरहेको ग्रुपले तीन महिनाअघि नै ६० करोड रुपैयाँमा लेकसाइड रिट्रिट किनेर व्यवस्थापन र सञ्चालन गरिरहेको छ ।
तीन जना सञ्चालक दृष्टान्त मल्ल, तेजेन्द्र प्रसाईं र साम्बा शाहले होटल आईएमई ग्रुपलाई बिक्री गरेका हुन् ।
ग्रुपले आफ्नो स्वामित्वमा लिएसँगै होटललाई आफ्नै व्यवस्थापन कम्पनी वेष्ट रिसोर्टमार्फत सञ्चालन गरेको हो ।
वेस्ट रिसोर्टले आगामी दिनमा अन्य होटल तथा रिसोर्ट पनि व्यवस्थापन गर्न ग्रुपले नयाँ कम्पनी खडा गरेको हो ।
किनबेचमा ७० करोड छलफल भए पनि ७ रोपनी क्षेत्रफलमा फैलिएको सो लेकसाइड रिट्रिटको केही जग्गा बाटोको मापदण्डमा जाने भएपछि ६० करोड रुपैयाँमा डिल भएको एक सञ्चालकले जानकारी दिए ।
लेकसाइडको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङसहित खुल्ला वातावरण रहेको छ । ३३ वटा कोठा रहेको सो रिट्रिटमा पारिवारीक बसाईका लागि ३ वटा बंग्लोसमेत रहेको छ ।
लामो समयदेखि पोखराको लेकसाइड क्षेत्रमा होटल तथा रिसोर्ट खोल्ने तयारीमा रहेका आइएमएई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको रोजाईमा ‘द लेकसाइड रिट्रिट’ परेको हो । हाल भएको संरचनालाई केही विस्तार गर्ने योजनासमेत ग्रुपको रहेको छ ।
कोभिडको संक्रमण विस्तारै कम हुँदै गएसँगै विदेशी पर्यटकहरु नेपालमा आउने क्रमले तिब्रता पाइरहेकाले ग्रुपले आफ्नो लगानी पर्यटकीय सहर पोखरामा विस्तार गरेको हो । पछिल्लो पटक पोखरा आन्तरिक पर्यटकको प्रमुख रोजाईको गन्तव्य बनेको छ ।
द लेकसाइड रिट्रिट तीन तारे स्तरको होटल हो । रिट्रिट भित्र बार सहितको स्वमिङ पुल रहेको छ । बैंठक तथा सेमिनारका लागि पनि सुविधासम्पन्न कन्फ्रेन्स हलसमेत सञ्चालनमा रहेको छ ।
बैंक तथा वित्तिय संस्था, केवलकार, जलविद्युत, ट्राभल एजेन्सी लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको आइएमई ग्रुपको पोखरामा पहिलो होटल हो ।
यसअघि आइएमईको मुख्य लगानीमा चन्द्रागिरीमा चन्द्रागिरी हिल्स रिसोर्ट सञ्चालनमा आइसकेको छ । ग्रुपले देशका ७ वटै प्रदेशमा होटलसहितको केबलकार सञ्चालनको तयारी गरिरहेको छ । अहिले बुटबल–पाल्पा र मौलाकाली होटलसहित केबलकारको पर्वाधार बनिरहेका छन् ।