तनहुँ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रूपमा परिचित छन् । उनले १२ बिघा जग्गामा केरा खेती विस्तार गरेका छन् ।
८ बिघा जग्गा रानाको आफ्नो स्वामित्वको हो । ४ बिघा जग्गा वार्षिक रुपमा रकम तिर्ने गरी लिजमा लिएका छन् । लिजमा लिएको जग्गामध्ये डेढ बिघा जग्गा लालझाडी गाउँपालिकाको चानदेवमा रहेको छ । किसान रानाको खेतबारीमा बढी उत्पादन दिने जी नौ जातको केरा रोपिएको छ । रोपिएको केराको बोटमा घडी (फल) लाग्न सुरु भइसकेको छ ।
'खेतबारीमा रोपिएका सबै केराका बोटमा फल लाग्न सुरु भएको छ', रानाले भने, 'निकै खुसी छु । केराबाट चाहेजस्तो आम्दानी हुनेमा ढुक्क छु ।'
केरा खेतीका लागि उनले १२ रुपैयाँ लाख लगानी गरेका छन् । 'वर्षअघि देखि खेतबारीमा थोरै केरा रोप्दै आएको थिएँ', उनले भने, 'खासै गतिलो आम्दानी हात पार्न सकिएन । दुई वर्ष हावाहुरीले खेतमा लगाएको केरा खेती पूरै सखाप पार्याे, हरेस खाइनँ ।'
परम्परागत रूपमा केरा रोप्दा लगानीसमेत उठ्न मुस्किल हुन्थ्यो । कृष्णपुर नगरपालिकामा सञ्चालित व्यावसायिक केरा खेतीबारे आयोजना गरिएको तालिममा सहभागी हुने अवसर किसान रानालाई अवसर जुर्यो । उनले केरा खेतीबारे तालिम लिए । तालिममा सिकेको सीपको सदुपयोग गर्दै केरा खेती गर्न थालेपछि रानाको आम्दानी बढ्न थाल्यो । पुँजी बढ्न थालेपछि केरा खेती गर्ने हौसला बढ्दै गयो । त्यसपछि केरा खेतीलाई नै मुख्य व्यवसाय बनाएर काम गर्न थाले उनले ।
केरा खेतीबाटै उनले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा राखेका छन् ।
एउटै केराको बोटमा १२ देखि १८ दर्जनसम्म केरा फलेको उनी सुनाउँछन् । विगतमा केरा खेतीबाट ५ लाख जति आम्दानी हुँदै आएकामा केरोको क्षेत्रफल बढाएपछि आम्दानीसमेत सोहीअनुरूप हुने उनकाे भनाइ छ ।
किसान रानाको केराप्रतिको लगनशीलतालाई दृष्टिगत गर्दै नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ६ लाखबराबरकाे सामग्री पाएका छन् । यस्तै २ पावर टिलर, एक टी बोरिङ, रासायनिक मल, विषादी र ८ हजार केराका बोट ५० प्रतिशत अनुदानमा पाएका छन् ।
'परिश्रम गरेर सफल हुनेलाई समाजबाट वाहवाही पाइने रहेछ', उनले भने, 'व्यावसायिक काम गर्ने भएकाले नै कृषि शाखाले बोलाएरै अनुदानमा यति बढी सामग्री दिएको छ ।'