काठमाडौं । निजी लगानीमा स्थापना भएको दाउन्ने फ्लोर मिल्स प्राइभेट लिमिटेडको सञ्चालन आम्दानी बढ्दै गएको छ । सन् २०२१ मा उद्योगले मैदा बेचेर ७२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
उद्योगले सन् २०२० मा ६७ करोड २० लाख र सन् २०१९ मा ४५ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दाउन्नेको व्यापार बढ्दै गएको देखिन्छ । उद्योगको व्यापार वृद्धि औसत २६.५२ प्रतिशत रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
उद्योगको औसत मार्जिन बढेर ७.७१ प्रतिशत पुगेको छ । सन् २०२०मा औसत मार्जिन ७.३८ प्रतिशत थियो । कारोबार बढे पनि उच्च ब्याजदरले कम्पनीको खुदनाफालाई असर गरिरहेको छ । उद्योगले दाउन्ने गोल्ड नामक मैदा उत्पादन गर्दै आएको छ ।
दाउन्नेको प्रशोधित मैदा उत्पादन क्षमता दैनिक १८० टन रहेको छ । यस्तै आटा उत्पादन क्षमता दैनिक ६० टन रहेको छ ।
दाउन्नेले ५६ करोड २२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङ नेपाल लिमिटेडले दाउन्नेको ऋणको केयर एनपी ए फोर रेटिङ दिएको छ ।
उद्योगले मैदा र आटा उत्पादन गर्न भारतबाट ठूलो परिमाणमा गहुँको आयात गर्दै आएको छ । रुस–युक्रेन युद्धले विश्व बजारमा गहुँको मूल्य बढेको र भारतले निर्यातमा समेत प्रतिबन्ध लगाएकाले आगामी दिनमा उद्योगको उत्पादनमा असर पर्ने देखिएको छ ।
उद्योगबाट उत्पादन हुने मैदा र आटा कर्पोरेटलगायत ३०० भन्दा बढी खरिदकर्ता रहेका छन् । उद्योगले मैदा, आटा, चक्की आटा, चोक्कर र सुजी उत्पादन गरिरहेको छ ।
उद्योगबाट उत्पादन हुने मैदा र आटा रोटी, पास्ता, चाउचाउ र बिस्कुटमा प्रयोग हुने गरेको छ । दाउन्ने फ्लोर मिल्स सन् २०१३ मा स्थापना भएको हो । उद्योग नवलपरासीको रामग्राम नगरपालिकामा रहेको छ ।