काठमाडाैं । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।
हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँट आजकल धान होइन, कंक्रिटकाे जंगल बन्दै गएको छ । खेती गर्नेको आत्मसम्मानसमेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ ।
भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषिप्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ । नेपालको कुल ग्रार्हस्थ्य उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशतबराबर रहेको विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ । सोही अवस्थालाई ध्यानमा राखेर सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो ।
किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ । मुलुकमा कृषि उपजको आयात बढ्दो देखिएको छ । खाद्यान्न आयातमा मुलुकको अर्बौं रकम बाहिइरिरहेको तथ्यांक सार्वजनिक भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड १ लाख २३ हजार रुपैयाँबराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यसबाट सरकारले २ अर्ब ५४ करोड ९२ लाख ८२ हजारबराबरको राजस्व संकलन गरेको छ ।
भारतबाट मात्रै २६ अर्ब ९३ करोड २९ लाख १० हजार रुपैयाँ ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ । त्यस्तै मुलुकमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ । विभागका अनुसार चालू आवको पहिलो ११ महिनामा १५ अर्ब ९२ करोड ११ लाख ७७ हजारकाे ५४ करोड दुई हजार १८० केजी धान आयात भएको छ । त्यसबाट सरकारले ७९ करोड ८० लाख ८७ हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै धानको बीउमात्रै ८७ करोड ५ लाख ७२ हजार रुपैयाँकाे कुल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ । सोह्र अर्बको मकै आयात विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौं रकम बाहिरिएको देखिन्छ ।
नेपालको हावापानीअनुकूल रहने मकैखेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौं रकम बिदेसिने गरेको हो । विभागको विवरणअनुसार चालू आवको जेठ मसान्तसम्म १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ । कुल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्यमात्रै १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार रुपैयाँबराबर रहेको छ ।
यसैगरी सोही अवधिमा १ करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य १ अर्ब ८ करोड १० लाख २५ हजार रुपैयाँ छ । मकै तथा यसको बीउको आयातबाट सरकारले ९३ करोड ३० लाख २२ हजारबराबरको राजस्व संकलन गरेको छ ।
५ अर्बको गहुँ आयात
विभागको विवरणनुसार गहुँको आयात पनि उस्तै छ । ११ महिनाको अवधिमा मात्रै ५ अर्ब ६३ करोड ९ लाख ४५ हजार रुपैयाँको १७ करोड ५ लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ । त्यस्तै कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी ३ करोड ८२ लाख ६६ हजार मूल्यबराबरको आयात भएको छ ।
यस अवधिमा १ करोड ७९ लाख २५ हजार ६०९ केजीबराबरको जौ १ अर्ब २१ करोड ८६ लाख ४८ हजार रुपैयाँमा आयात भएको छ । त्यस्तै ३ करोड ८२ लाख ६६ हजारकाे ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ ।
साथै विभागका अनुसार यस अवधिमा १८ लाख २७ हजार रुपैयाँकाे २७ हजार १२९ केजी फापर आयात भएको छ ।