काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ११.८२ अंकले घटेर १९ सय २१ बिन्दुमा झरेको हो ।
आज १९ सय ३५ बिन्दुमा खुलेको बजार ओरालो यात्रा तय गर्दै १९१० बिन्दुबाट उतारचढाव खेप्दै १९२१ बिन्दुमा बन्द भएको छ । आज सामान्य अंकले घटेको बजारमा १ अर्ब ५ करोड रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब ४ करोड रुपैयाँको समेत कारोबार भएकोे थियो ।
आज नेप्से परिसूचकसँगै कारोबार घटेको देखिन्छ । बढेको बजारमा कारोबार घट्नु आगामी कारोबारका लागि सकारात्मक संकेत हो । तर, आज कारोबारसँगै परिसूचक पनि घटेको छ ।
आज नेप्से सामान्य अंकले घट्दा कारोबार रकम पनि घटेको हो । नेप्सेमा सामान्य अंकको गिरावट आई कारोबार रकममा देखिएको उच्च गिरावटले पछिल्लो कारोबारको सुरुवातको लागि सकारात्म हुने देखिन्छ ।
आइतबार र सोमबार बजार बनावट हेर्दा केही समूहले बजारलाई माथि उचाल्न खोजेको देखिन्थ्यो । तर, आजको बजारको बनावट हेर्दा दिनभरिको उतारचढावले बजार उचाल्न खोजिरहेकाहरूलाई साथ नदिएको देखिन्छ ।
बजार बढ्न खोज्दा बिक्रेता देखिने र बजार घट्दा स्थिर रहँदा बजार उचाल्न खोज्ने समूहलाई केही असहज भएको देखिन्छ । आजको बजार बनावटले भोलि अर्थात् बुधबार बजार सुरुवात समयमा केही बढ्ने संकेत देखाएको छ ।
नेप्सेमा मंगलबार २३० कम्पनीको ३० लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको देखिन्छ । साथै उन्नति सहकार्य र कृषि विकास बैंकको सेयरमूल्य उच्च दरले बढेको छ ।
त्यस्तै आज जनरल इन्स्योरेन्स र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा केही गिरावट आएको छ । आज नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ३१ लाख भएको छ । त्यस्तै लाइफ इन्स्योरेन्सको ५ करोड ४३ लाख र सिटिजन इनभेस्टमेन्ट ट्रसको ५ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।