काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिममा ३ वटा ठूला ४०० केभी प्रसारण लाइन बनाउने भएको छ । प्रस्तावित प्रसारण लाइनबाट २५०० देखि २६४७ मेगावाटसम्म बिजुली प्रवाह हुने छ । नेपालमा बन्न लागेको हालसम्मकै सबैभन्दा ठूलो प्रसारण लाइन हो ।
कम्पनीले प्रसारण लाइन बनाउन अनुमतिपत्र (लाइसेन्स) का लागि विद्युत् विकास विभागमा निवेदन दिएको छ । विभागले अध्ययन गरेर ३५ दिनपछि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई प्रसारण लाइन बनाउन लाइसेन्स दिनेछ ।
कम्पनीले बेतनदेखि दोधारासम्म ३९ किलोमिटर लामो ४०० केभी डबल सर्किट लाइन बनाउन लागेको हो । जसअनुसार सुर्खेतको चौकुना गाउँपालिकामा प्रस्तावित वेतन सबस्टेसनदेखि कैलालीको बर्दगोरिया गाउँपालिकामा दोधारा सबस्टेसनसम्म सो लाइन बन्ने छ ।
प्रसारण लाइनबाट २६४७ मेगावाट बिजुली प्रवाह हुने छ । प्रसारण लाइनमा १२० वटा स्टिल टावर रहने प्रस्ताव गरिएको छ । प्रस्तावित प्रसारण लाइन २०८३ कात्तिकमा सक्ने लक्ष्य लिएको ग्रिड कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले कैलालीको बर्दगोरिया गाउँपालिकामा बन्ने सबस्टेसनदेखि कैलालीको भजनी नगरपालिकाको कर्मदेव गाउँ नेपाल–भारत सीमानासम्म ४०० केभी डबल सर्किट भएको प्रसारण लाइन बनाउने भएको छ ।
सो प्रसारण लाइनबाट २५०० मेगावाट बिजुली प्रवाह हुनेछ । लाइनको लम्बाइ २७ किलोमिटरको हुने कम्पनीले जनाएको छ । प्रसारण लाइनमा ९० वटा स्टिल टावर रहने छ । प्रसारण लाइन आयोजना २०८२ असोजभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
यस्तै २५०० मेगावाट बिजुली प्रवाह हुने गरी फुकोटदेखि बेतनसम्म ४०० केभी डबल सर्किट भएको अर्को प्रसारण लाइन निर्माण हुने भएको छ । आयोजना कालिकोटको खाँडाचक्र गाउँपालिमा प्रस्तावित फुकोट सबस्टेसनदेखि सुर्खेतको चौकुना गाउँपालिकामा बेतन सबस्टेसनसम्म ५५ किलोमिटर लामो लाइन हुने छ ।
१९४ वटा स्टिल टावर रहने लाइनको काम २०८३ मंसिरसम्म सक्ने लक्ष्य कम्पनीले लिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बन्ने ठूला जलविद्युत् आयोजनालाई लक्षित गरी कम्पनीले ४०० केभी प्रसारण लाइन बनाउन लागेको हो । प्रसारण लाइन भारतको सीमासम्म पुग्ने छ ।
प्रसारण ग्रीड नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । कम्पनीले ठूला प्रसारण लाइन बनाउने जिम्मेबारी पाएको छ ।